बझाङ : बझाङको तलकोट गाउँपालिका १ बेडालाकी प्यारी देवी बमले जिन्दगीको ३५ औं बसन्त हरेक महिनाको ७ दिन गोठमै बसेर बिताउनुभयो । लामो समय गोठमा बसेका कारण चिसो लागेर अहिले पनि उहाँका हातखुट्टा सुन्निन्छन् ।

घर बाहिर बस्दा चिसो लाग्ने, विरामी हुने, सर्प तथा विच्छीले डस्ने र बलात्कार समेत हुने डर र छाउपडी विरुद्धको अभियानले उहाँ घरभित्र बस्न त थाल्नुभयो तर समाजमा नानाभाँती कुरा काट्नेको कमी थिएन । फलाना यस्ती, उस्ती भनेर कुरा काट्नेका अगाडि उहाँले जहिले पनि शीर निहुरिएर हिड्नुपथ्र्यो ।
आफू जस्तै गाउँका अरु महिला पनि घरभित्रै बस्न थालेपछि उहाँलाई पनि सजिलो हुँदै गएको थियो । झनै छाउ (महिनावारी) हुँदा घरमै बस्ने महिलालाई सम्मान गरेपछि उहाँको शीर ठडिएको छ ।

प्यारी देवी सहित ९ जना र अरु बेलामा जस्तै दुध दही र खाना खाने २ जना महिलालाई यूएमएन र महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको हो । संस्थाले यसभन्दा अगाडि संस्थाले सुनिकोटका ५ जना महिलालाई सम्मान गरेको थियो ।
सम्मानित भएका महिलाहरुले अरु महिलालाई पनि छाउपडी सम्बन्धी गलत धारणा र अन्धविश्वासको विषयमा सचेत गराउने जिम्मेवारी दिइएको छ । महिलाहरुले अरु महिलालाई पनि छाउपडी त्याग्न प्रेरित गर्ने र छिट्टै वडालाई छाउपडीमुक्त बनाउने बताएका छन् ।


568 पटक हेरिएको 

