काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले अर्थ मन्त्रालयको असहयोगप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। मन्त्रालयमा बुधबार आयोजित विकास समस्या समाधान समितिको बैठक र आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो ‘मन्त्रालयबाट पठाइएका फाइलहरू खोल्न अर्थ मन्त्रालयले आलटाल गर्छ। फाइल नखोल्दा खानेपानीका महत्त्वपूर्ण परियोजनाहरू अघि बढ्न सकेका छैनन्।’
उहाँले यस विषयमा प्रधानमन्त्रीसँग सीधै कुरा गर्ने बताउनुभयो ।
बजेट अभावले जनतालाई आवश्यक पर्ने खानेपानी आयोजनाहरूको निर्माणमा अवरोध सिर्जना भइरहेको बताउँदै मन्त्री यादवले चुरे दोहन र जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू सुक्दै गएको र यसले गर्दा खानेपानीको आपूर्ति व्यवस्थामा चुनौती उत्पन्न भएको बताउनुभयो। ‘मधेसमा चुरेको दोहनका कारण पानीका स्रोतहरू सुक्दै गएका छन्। जसले गर्दा चापाकलहरूमा पानी आउन छाडेको छ’ उहाँले भन्नुभयो ‘यो समस्याको समाधानका लागि देशभरि नै जलस्रोतको अध्ययन गरी आवश्यक कदम चाल्न जरुरी छ।’
नेपाली जनतालाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने मन्त्रालयको प्रमुख उद्देश्य भएको बताउदै मन्त्री यादवले उक्त लक्ष्य हासिल गर्न मन्त्रालयका कर्मचारीहरूलाई निरन्तर मेहनत गर्न निर्देशन दिनुभयो।
‘जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने काम पहिलो प्राथमिकता हो’ उहाँले भन्नुभयो ‘शुद्ध खानेपानी जनताको अधिकार हो। यसलाई सुनिश्चित गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौं ।’