थामे बाढी पीडितका लागि प्रदेश सरकारद्धारा ३३ सय मिटर पाइप सहयोग

  वास खबर सम्वाददाता  219 पटक हेरिएको


सोलुखुम्बु : सोलुखुम्बुको थामे बाढी पीडितका लागि कोशी प्रदेश सरकारले विभिन्न साइजको पाइप उपलब्ध गराएको छ । थामे बाढीबाट क्षतिग्रस्त साम्दे खानेपानी र हुंगु खानेपानी योजनाको पुनः निर्माणको लागि कोशी प्रदेश सरकारबाट पाइप उपलब्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नंं. ४ का अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारबाट ५० एम. एम.को ८ सय मिटर, ४० एम. एम.को १५ सय मिटर र ३२ एम. एम.को १ हजार मिटर पाईप उपलब्ध गराएको हो ।

‘बाढीले खानेपानीको पाइप बगाएपछि कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री माननीय बुद्धि कुमार राजभण्डारी ज्यूलाई निवेदन ग¥यौं, उहाँकै पहलमा कोशी प्रदेश सरकारले विभिन्न साइजका पाइपहरु उपलब्ध गराउनु भयो’ उहाँले भन्नुभयो ‘अब केही दिनमा निर्माण स्थलमा ती पाइपहरु पुग्नेछन् र खानेपानीको पुनः निर्माण हुनेछ ।’

कोशी प्रदेश सरकारबाट प्राप्त पाईपहरू खुम्बु पासाङल्हामु गाउँपालिकाले ढुवानी गर्न थालेको उहाँले जानकारी दिनुभयो । ‘गाडी पुग्ने ठाउँसम्म गाडीले त्यसपछि मानिसले नै बोकेर लैजानुपर्ने अवस्था छ, सम्बन्धित स्थानमा पुग्न केही समय लाग्छ’ उहाँले भन्नुभयो।


गएको साउन ३२ गते हिमताल फुटेर थामे खोलामा आएको बाढीले थामे गाउँको एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, दुई वटा खानेपानी योजना र गोरेटो बाटोमा क्षति पुगेको थियो । यस्तै २ वटा होटल, १३ वटा घर पूर्ण रुपमा र १० वटा घरमा आंशिक क्षति भएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार