असोज १० देखि मेलम्चीको पानी काठमाडौं पठाईने, दैनिक २० करोड लिटर पानी आपूर्ति हुने

  वास खबर सम्वाददाता  515 पटक हेरिएको

काठमाडौ : मेलम्चीको पानी यही असोज १० देखि काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ । मनसुन बाहिरिने अवस्थामा पुगेसँगै मेलम्ची नदी सङ्लिएपछि यही असोज १० गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण गर्न लागेको हो । बर्खा सुरु भएपछि असार १० गते देखि मेलम्ची सुरुङ बन्द गरिएको थियो ।

मनसुन फेरि सक्रिय नभए र कुनै प्राविधिक समस्या आइ नपरे असोज १० देखि पानी वितरणमा समस्या नहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताउनुभयो । ‘अहिले नै वितरण गर्न पनि प्राविधिक रूपमा तयार थियौं,’ लामिछानेले भन्नुभयो ‘तर मनसुन नरोकिएकाले ढिलो गरिएको हो ।’

पानी ल्याउने सुरुङ भने खाली गरिएको छैन । ‘सुरुङ खाली गरेको भए मुहानबाट पानी पठाएर यता आउन समय लाग्थ्यो,’ लामिछानेले भन्नुभयो ‘यस पटक त्यो गरिएन, त्यसैले मुहानबाट पानी पठाएपछि काठमाडौं आउन समय लाग्दैन ।’ अहिले खोलाबाट बाटो नभएकाले हेलम्बु गाउँपालिकाको क्युलबाट सर्कथली हुँदै प्राविधिक टोलीले मुहान पुगेर पानी पठाउने लामिछानेले बताउनुभयो । ‘मनसुन कम भएपछि पानी ल्याउन समस्या छैन,’ उहाँले भन्नुभयो ‘उपत्यकामा पानीको समस्या ठूलो छ, पानी ल्याउनेमा ढिलाइ गर्नु हुँदैन ।’

मुहानसम्म पुग्ने अस्थायी रूपमा बनाएको बाटो बाढीले बगाए पनि बनाइएको छैन । बाटो बनाउन बर्खाअघि नै एस्क्काभेटर लगेर मुहान नजिकैको सुरक्षित ठाउँमा राखिएको लामिछानेले बताउनुभयो। ‘मनसुन कम भएपछि फेरि खोलाबाटै अस्थायी रूपमा बाटो बनाएर मुहानसम्म पुर्‍याउँछौं’ उहाँले भन्नुभयो।

सिन्धुपाल्चोकको मेलम्ची नदी बाट दैनिक करिब २० करोड लिटर पानी ल्याएर वितरण गरिनेछ । असार १० अघिसम्म मेलम्चीबाट १७ करोड लिटर पनि ल्याएर वितरण गरिएको थियो । मेलम्चीको पानी बन्द भएपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेडले धाप ड्याम तथा सुन्दरीजल र काठमाडौं उपत्यकाका विभिन्न स्रोतहरु बाट समेत गरी दैनिक करिब १६ करोड लिटर पानी वितरण गरिरहेको छ। उपत्यकामा पानीको माग दैनिक ४७ करोड लिटर छ ।

०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथि तर्फ सर्कथली क्षेत्रमा ८ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी छ । दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट थप १७र१७ करोड लिटर पानी ल्याइनेछ । तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने भनिए पनि निर्माणको काम सुरु भएको छैन ।

मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा १ हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरि सकिएको छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा ७ सय ६० किमिमध्ये करिब ७ सय किमि पाइप बिछ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ । आगामी पुस दोस्रो सातासम्म सबै पाइपलाइन विस्तार गरेर उपत्यकामा नयाँ नेटवर्कबाट पानी वितरण गर्ने योजना रहेको मेलम्ची उपआयोजना–२ ले जनाएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार