मौसम सफा भए लगत्तै मेलम्चीको सुरुङ खोलिने

  वास खबर सम्वाददाता  122 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्री प्रदीप यादवले मनसुन हटेर मौसम सफा भए लगत्तै मेलम्चीको पानी काठमाडौंमा पथान्तरण हुने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागले अबको दुई-तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले त्यसपछि मौसम सफा भए लगत्तै केही दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने उहाँले बताउनुभयो।

२०७८ सालको बाढीपहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भएको र त्यसबाट स्थानीय त्रसित रहेकाले केही समस्या रहे पनि सरकारले छिट्टै स्थानीयका समस्या समाधान गरी काठमाडौंका नागरिकलाई पानी वितरण गर्ने उहाँले बताउनुभयो।

‘२०७८ सालको बाढी पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भयो। त्यसको कारणले गर्दा वर्षातमा मुहान बन्द गर्छौं। वर्षा सकिएपछि मात्रै पानी दिन्छौँ। तर मलाई लाग्छ मौसम विज्ञानले फेरि केही दिन कोशी र बागमती प्रदेशमा अलर्ट रहनु भनेकाले रोकेका छौँ तर यो चेतावनी सकिए लगत्तै हामी मेलम्चीको पानी खोल्छौँ,’ उहाँले भन्नुभयो।

‘मेलम्चीको पानी खोल्ने बित्तिकै त्यो समस्या समाधान हुन्छ। त्यो भन्दाअघि पाइपको पनि डिजिटल प्रणाली छ, त्यसबाट कहाँ कहाँ पाइप फुटेको छ, कहाँ नष्ट भएको छ, त्यो हेर्ने काम गरिरहेका छौँ। तत्काल मर्मत गरेर पानी छोड्ने हामीले सोचेका छौँ। पानी खोल्नुभन्दा अगाडि एउटा ठूलो महाभारत छ त्यो भनेको मेलम्चीका स्थानीयहरूको आन्दोलन। त्यहाँ बाढी,पहिरो पीडितहरूको आन्दोलन छ। त्यसले समस्या गरेको छ, कर्मचारी त्यहाँ जानुभएको छ। उहाँहरूको केही कुरामा विमति छ, त्यसमा मन्त्रालय गम्भीर छ। उहाँहरुको जायज मागमा सम्बोधन गर्नेतर्फ हामी लागेका छौँ। पानी छोड्न उहाँहरुले कुनै कठिनाइ गर्नुहुन्न भन्ने मलाई विश्वास छ। दुई तीन दिनपछि पानी खोल्नेछौँ।’

मन्त्री यादवले विपद्को बेलामा सबैले सहयोग गर्नुपर्ने भन्दै काठमाडौंमा पानीको हाहाकार भएको बेलामा स्थानीयहरूले पानी पठाउँन अवरोध नगर्नेमा आशावादी रहेको बतानुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार