मकवानपुर : बाढी र पहिरोबाट मकवानपुरको थाहा नगरपालिका क्षेत्रका २६ वटा खानेपानी आयोजनामा करिब १ करोड ६३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। गत ११ र १२ असोजमा परेको बर्षाका कारण खानेपानी आयोजनाहरुमा यत्ति धेरै खानेपानी आयोजनामा क्षति भएको नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षतिको तथ्याङ्कमा उल्लेख छ ।
वर्षाका कारण आएको बाढी पहरोले खानेपानीका १८ वटा इन्टेकमा क्षति पुगेको छ । त्यसैगरी २४ वटा खानेपानीको रिजर्भ ट्याङ्कीमा क्षति पुगेको क्षतिको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । विभिन्न साइजका गरी १६ हजार १७० मीटर पोलिथिन पाइप क्षति भएको छ भने एक हजार ३२४ मीटर जिआइ पाइपमा क्षति भएको पालिकाले जनाएको छ ।
नगरपालिकाको प्रारम्भिक तथ्याङ्क अनुसार इन्टेकहरुमा भएको क्षति करिब ९ लाख रुपैयाँको छ भने रिजर्भ ट्याङ्कीहरुको क्षति मूल्याङ्कन १ करोड ३१ लाख ७५ हजार रुपैयाँ गरिएको छ । त्यसैगरी पोलिथिन पाइप २० लाख १७ हजार ४५१ र जिआइ पाइपको क्षति मूल्याङ्कन २ लाख १० हजार ४६६ रुपियाँ रहेको नगरपालिकाका सव इन्जिनियर सीताराम ढकालले जानकारी दिनुभयो।
नगरपालिकाको सबै १२ वटै वडाहरुबाट तथ्याङ्क संकलन गरी पालिकामा एकीकृत गरी क्षतिको मुल्याङ्कन गरिएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरज कुमार भुजेलले जानकारी दिनुभयो।
सूचना अधिकारी भुजेलका अनुसार बाढीले क्षति पुर्याएको खानेपानी आयोजनाको पुनः निर्माणका लागि पालिकासँग बजेट अभाव भएका कारण खानेपानी डिभिजन, मन्त्रालय तथा विभागहरुमा अनुरोध गरी पठाइएको छ।’ खानेपानी आयोजनाको पुनः निर्माणका लागि पालिकाले सरकारी तथा गैर सरकारी निकायलाई आग्रह गरेको छ ।