
सल्यान : सल्यान जिल्लाको कालिमाटी गाउँपालिका-१ कोटमा पालिकाको १ करोड बजेटमा २०७७ देखि खानेपानी योजना सञ्चालन भयो । ठेकेदारले गरेको लापरबाहीका कारण ५० प्रतिशत काम सम्पन्न हुन नपाउँदै उक्त योजना डेढ वर्षदेखि अलपत्र परेको छ ।
योजना अलपत्र पर्दा कोट लगायत आसपासका बस्तीका ५० भन्दा बढी परिवार खानेपानीको लागि एक घन्टा बढी हिँड्न बाध्य छन् । योजनाको काम अलपत्र पर्दा कोटबासी लगायत आसपासका स्थानीय खानेपानीको लागि विभिन्न किसिमका कष्ट उठाउँदै आएका छन् ।
बाह्रै महिना खानेपानीको हाहाकार हुने जिल्लाको शारदा नगरपालिका १४/१५ माल्नेटाका ७ सय ५० परिवारका लागि २०७६ मा विश्व बैंकको ११ करोड अनुदानमा बृहत लिफ्ट खानेपानी योजना सञ्चालन भएको थियो। निर्माणको जिम्मेवारी पाएको सगरमाथा ड्रिलिङ्ग सेवा कम्पनीले काममा गरेको ढिलाईका कारण अहिलेसम्म योजनाको काम सम्पन्न हुन नसक्दा माल्नेटाबासीले घरघरमा धारा जडान गरी पानी खान पाएका छैनन् ।
उनीहरु खानेपानीका लागि बाह्रै महिना आसपासका मुहान धाउन बाध्य छन् ।गर्मीको समयमा स्थानीय महिलाहरु रातभर मुहानमा पालो कुर्नु पर्ने बाध्यता छ ।
यस्तै, बन्गाड कुपिण्डे नगरपालिका-१ नाम्रामा खानेपानीको तीन वर्ष अघि सम्पन्न गरेको योजनाको पक्की सिंचाई कुलो निर्माण गर्दा पाईप पुरिई पानी आउन छाडेपछि स्थानीय अहिलेपनि भेरी नदीको पानी खान लगायत अन्य कामकाजको लागि प्रयोग गर्न बाध्य छन् ।
बारम्बार सम्बन्धित निकाय समक्ष माग राख्दै आएपनि बेवास्ता गर्दा घरघरमै पानी भर्न पाउने र शुद्ध पानी खान पाउने सपना पुरा हुन सकेको छैन । जसका कारण नाम्राका ५५ परिवार प्रभावित भएका छन् ।
जिल्लाको कुल घरधुँरी ४६ हजार ५ सय तथा जनसंख्या २ लाख ३८ हजार ५ सय रहेको छ । कुल ४६ हजार ५ सय घरधुरी मध्ये ५ हजार बढि परिवार अझै सहज खानेपानीको पहुँच बाहिर रहेका छन् ।उक्त परिवार अहिलेपनि खोला, मुहान तथा जरुवाको पानी खान बाध्य आएका छन् ।
विगतमा निर्माण गरेका योजना तहसनहस भैसकेका, उपल्लो भेगमा भएका मुहान सुक्दै गएका र सम्बन्धित निकायले प्रयाप्त बजेटको अभावमा सबै स्थानमा योजना संचालन गर्न नसक्दा जिल्लाका १० स्थानीय तहका अझै ५ हजार बढी सहज खानेपानीको पहुँच बाहिर छन् ।
बस्तीमा भएका मुहान सुकेका र सम्बन्धित निकायले खानेपानीको योजना सञ्चालन नगर्दा अहिलेसम्म स्थानीय महिलाहरु दैनिक एक गाग्री पानीको लागि एक देखि डेढ घन्टा हिँडन बाध्य भएका जिल्लाको कुमाख गाउँपालिका-५ कोटका स्थानीय देबबहादुर बुढाथोकीले बताउनुभयो। गर्मीको समयमा मुहान सुक्दा खोलै झर्नुपर्ने बाध्यता हुने उहाँले जानकारी गराउनुभयो।
उहाँका अनुसार पालिका र खानेपानी तथा उर्जा विकास कार्यालयलाई पटक पटक आह्वान गरिएकव छ । तर अहिलेसम्म योजनाको काम अगाडि बढ्न नसक्दा स्थानीय महिलाहरु पुरानै जरुवा चाहार्न बाध्य छन् ।
बन्गाड कुपिण्डे नगरपालिका-१ नाम्राका गोपीलाल आचार्यले भने पक्की सिचाई कुलो निर्माण गर्दा पुरिएको पाईप तानेर लाईन विस्तारमा सम्बन्धित निकायले चासो नदिदा बस्तीका ५५ परिवार वर्षातको समयमा बाहेक अन्य समयमा गत वर्षदेखि नै भेरी नदीकै पानी प्रयोग गर्दै आएको बताउनुभयो। वर्षातको समयमा भेरी नदीको पानी धमिलो हुने भएकाले नदी पारी सुर्खेतको सिम्ता गाउँपालिकाको पानीखोला मुलबाट पानी ल्याएर खाने गरेका उहाँले जानकारी गराउनुभयो ।
‘नदीको धमिलो तथा फोहर पानी खानुपर्दा स्थानीयलाई विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ’ उहाँले भन्नुभयो ‘बारम्बार माग राख्दा गत वर्ष खानेपानी तथा उर्जा विकास कार्यालय सल्यानबाट र पालिकाबाट टोली आएको थियो । मर्मत गरेर पानी चलाउँछौं भनेका थिए । अहिलेसम्म काम गरेका छैनन्’ ।
कालिमाटी गाउँपालिका-१ चोत्रेमा खानेपानी तथा उर्जा विकास कार्यालय सल्यानले १ करोड बढि खर्च गरेर २०७९ मा सम्पन्न गरेको लिफ्ट खानेपानी योजनाको मोटर बिग्रेका कारण अहिले एक गाग्री पानीको लागि दुई घन्टा हिडनु पर्ने बाध्यता रहेको स्थानीय विमला ओलीले बताउनुभयो।
बजेटको अभावमा समितिले बिग्रेको मोटर मर्मत गर्न नसक्दा विगतमा जस्तै समस्या दोहोरिएको उहाँले जानकारी गराउनुभयो । ‘सम्बन्धित निकायले योजना सम्पन्न गरेर घरघरमा धारा जडान गरेपछि धेरै राहत भएको थियो । पानीको लागि राति नै उठेर दौडधुप गर्नु पर्दैनथ्यो । हिजोआज बिहानै उठेर मुहानतिर दौडिनु पर्छ । समयमै नगए पानी खान पाईँदैन’ उहाँले भन्नुभयो।
विगतमा विभिन्न निकायले सम्पन्न गरेका योजना तहसनहस भएका, भएका मुहान जलवायु परिवर्तन तथा जथाभावी सडक निर्माणले सुक्दै गएका र पछिल्नो समयमा सम्पन्न गरेका योजना प्रयाप्त नभएकै कारण सल्यानका अझै ५ हजार बढि परिवार खानेपानीको पहुँच बाहिर रहेका खानेपानी तथा उर्जा विकास कार्यालय सल्यानका प्रमुख अनुप श्रेष्ठले बताउनुभयो।
पछिल्नो समयमा जिल्लाका अधिकांश पालिकामा खानेपानी सम्बन्धी परियोजना लागु भएका र कार्यालयले पनि धमाधम योजनाको काम गरिरहेकाले छिट्टै जिल्लाभरीका सबै घर परिवार खानेपानीको पहुँचमा पुग्ने उहाँले जानकारी गराउनुभयो।
प्रत्येक वर्ष पालिकाले खानेपानी योजनाको लागि २ करोड बढी बजेट विनियोजन गरेर काम गर्दै आएपनि ४ हजार ५ सय घरधुरी रहेको गाउँपालिकाको उच्च पहाडी भेगका २/३ सय परिवार खानेपानीको पहुँच बाहिर रहेका जिल्लाको कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले बताउनुभयो।
भौगोलिक विकटताका कारण पनि पालिकाको उच्च भेगका बस्तीमा योजना सञ्चालन गर्न बजेट धेरै लाग्ने भएकाले कठिनाई भएको उहाँको भनाई छ । कपुरकोट गाउँपालिका र खानेपानी तथा उर्जा विकास कार्यालयको सहकार्यमा पालिकाका धेरै स्थानमा लिफ्ट योजना सम्पन्न गरेपनि पालिका भित्रका झन्डै ३० प्रतिशत स्थानीय सहज खानेपानीको पहुँच बाहिर रहेका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार ओलीले बताउनुभयो।
उहाँका अनुसार पहुँच बाहिर रहेका स्थानीय मध्ये कतिले मुहानबाट पाईप जडान गरेर घर नजिकैसम्म लगेका त कतिले आधा घन्टा बढी समय हिँडेर गाग्रीमा बोकी ल्याई पानी खाँदै आएका छन् । गर्मीको मौसममा त ट्याङ्करमा पानी बोकेर खानुपर्ने बाध्यता रहेको खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ।
दार्मा गाउँपालिकाका प्रमुख प्रशासकिय रेसमबहादुर ओलीले पालिका भित्रका धेरै स्थानमा लिफ्ट योजना सञ्चालनमा आएपछि खोलाको पानी खानु पर्ने बाध्यताको अन्त्य भएपनि केही प्रतिशत अहिले पनि गाग्रीमा बोकेर मुहानको पानी ल्याई खाने गरेको बताउनुभयो।


408 पटक हेरिएको 

