तराई मधेसमा अलपत्र २८० वटा ओभरहेड ट्याङ्क सञ्चालनमा ल्याईने, करिब ३ अर्ब रुपैयाँ लाग्ने

  वास खबर सम्बाददाता  192 पटक हेरिएको


वीरगन्ज : तराई मधेसमा विभिन्न समयमा निर्माण भई सञ्चालनमा नआएका २ सय ८० वटा ओभर हेड ट्याङ्क सञ्चालनमा ल्याईने भएको छ। यसका लागि मन्त्री स्तरीय निर्णय गरी आवश्यक बजेट स्टिमेट समेत तयार पारिसकेको छ ।

तराई मधेसमा अलपत्र अवस्थामा रहेका सबै ओभरहेड ट्याङ्क सञ्चालन गर्न ३ अर्ब रुपैयाँ बजेट लाग्ने आंकलन गरिएको खानेपानीमन्त्री प्रदीप यादवले बताउनुभयो ।

‘अर्थमन्त्री विष्णु पौडेल अमेरिकाबाट फर्किए लगत्तै आगामी प्रक्रिया सुरु गरिहाल्छौं’ वीरगञ्जको रेडियो सीमाञ्चलको उद्घाटन कार्यक्रममा मन्त्री यादवले भन्नुभयो ‘तराई मधेसको खानेपानी समाधानको लागि एउटा उत्तम विकल्प हुनेछ ।’

खानेपानी आयोजना निर्माण गर्दा पाइपलाइन खन्ने पुर्ने लगायत जनसहभागिता बापत जुटाउनु पर्ने हिस्सा जुटाउन नसक्दा तराई मधेसमा ओभरहेड ट्याङ्क निर्माण भए पनि खानेपानी सञ्चालन भएका छैनन् । बर्षौ पहिले निर्माण भएका खानेपानी आयोजनाको कतै मुख्य पाइपलाइन खनेर पाइप विछ्याउन बाँकी छ भने कतै खानेपानीको भवन निर्माण, खानेपानी बोरिङ गर्ने, विद्युत जडान लगायत काम गर्न समेत बाँकी छ ।

तराई मधेसमा चापाकल गाडेर कम गहिराईबाटै पानी तान्न सकिने भएकाले डिप बोरिङको पानी प्रति स्थानीयको ध्यान नजाँदा पनि ती आयोजनाहरु अधुरो रहेको मन्त्रालयले जनाएको छ । पछिल्ला समयमा जलवायु परिवर्तन र अनावृष्टिका कारण तराई मधेसमा समेत भूमिगत पानीको सतह भासिदै गएपछि यस प्रति जनचासो बढ्दै गएको छ ।

कम गहिराईको पानीमा विभिन्न भौतिक, जैविक तथा रासयनिक प्रदुषण भेटिएकाले नागरिकलाई सुरक्षित पानी मात्र वितरण गर्ने भन्दै नेपाल सरकारले चापाकल वितरण गर्ने योजना बन्द गरेको छ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार