एक घर एक धाराको नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : खानेपानी मन्त्री

  वास खबर सम्बाददाता  172 पटक हेरिएको

वीरगन्ज : खानेपानीमन्त्री प्रदीप यादवले गृह जिल्ला पर्सामा विद्यमान खानेपानीको समस्या पूर्ण रुपमा समधान गरिने बताउनु भएको छ । पर्साको वीरगन्ज महानगरपालिकामा पर्ने जनता सडक अन्तर्गत पर्ने रामराजापुलदेखि प्रसौनी विर्ता, इनर्वा मनियारी हुँदै जगरनाथपुरसम्म नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजना शिलान्यास गर्दै मन्त्री यादवले सो कुरा बताउनु भएको हो ।

‘एक घर एक धारा सरकारको नीति अनुसार खानेपानी मन्त्रालयले विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ। हामीले वीरगन्जको इनर्वा मनियारी लगायतका क्षेत्रमा नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजना सुरुवात गरेका छौं। पर्सा जिल्लाका नागरिकले भोगिरहेको खानेपानीको समस्या समाधान गरेरै छोड्छौं’ उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले वीरगन्ज महानगरपालिकामा थपिएका नयाँ वडाहरूमा शुद्ध खानेपानी पुर्‍याउनु आफ्नो प्रमुख दायित्व भएको पनि बताउनुभयो। मन्त्री यादवले महानगरमा थपिएका वडाहरूमा शुद्ध खानेपानी पुर्‍याउनु आफ्नो प्रमुख दायित्व रहेको बताउनुभयो। उहाँले भन्नुभयो ‘आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो। म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधैं कटिबद्ध छु।’

आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफूले पनि मन्त्रालय सम्हालेदेखि हालसम्म नागरिकका खानेपानीका समस्या दीर्घकालीन रूपमा समाधान गर्न तर्फ अग्रसर रहेको उहाँले बताउनुभयो।

पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरू सुक्दै जान थालेकाले तराई लगायत क्षेत्रमा भूमिगत पानी सुक्न थालेको र चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उहाँको भनाइ थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार