धनगढी : सुदुरपश्चिम प्रदेशको धनगढीमा सुशासन तथा वित्तिय अनुशासन सम्बन्धी कार्यशाला गोष्ठी भैरहेको छ । खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागको स्वीकृत बार्षिक कार्यक्रम अनुसार आर्थिक बर्ष २०७९/०८० सम्मको संघ तर्फ फर्छ्यौट हुन बाँकी रहेको बेरुजु र साबिकको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरुको आर्थिक बर्ष ०७४/०७५ सम्मको फर्छ्यौट हुन बाँकी रहेको बेरुजु फर्छ्यौट गर्ने उद्देश्यले सुशासन तथा वित्तिय अनुशासन सम्बन्धी गोष्ठी आयोजना गरिएको हो।
कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका आयोजना प्रमुख/डिभिजन प्रमुख र लेखा प्रमुखहरु सहभागी गोष्ठीमा नियमित गर्नुपर्ने बेरुजुको हकमा आवश्यक प्रमाणहरु जुटाई नियमितको लागि फाइलहरु तयार गर्ने, असुल उपर र प्रमाण पेश गर्नुपर्ने, पेश्की फर्छ्यौट गर्नुपर्ने बेरुजुको हकमा आवश्यक प्रमाणहरु जुटाई बेरुजु लगत कट्टा गरिनेछ ।
खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागको आयोजनामा भएको गोष्ठीमा खानेपानीमन्त्री प्रदीप यादवले प्रदेशका सबै नागरिकमा शुद्ध खानेपानीको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानी सम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
आम नेपाली नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफूले मन्त्रालय सम्हालेदेखि नागरिकका खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि कार्य गरिरहेको बताउनुभयो ।
उहाँले ‘एक घर एक धारा’को अवधारणालाई साकार पार्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरु सुक्दै जान थालेकाले तराइँ लगायतका क्षेत्रमा भुमिगत पानी सुक्न थालेको एवं चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उहाँको भनाई थियो ।
कार्यशाला गोष्ठी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो ।