गुल्मी : गुल्मीका तीन जना युवा मिलेर करिब २ करोड रुपैयाँ लगानीमा खानेपानी उद्योग खोलेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–३ बेहोरेस्थित छल्दी खोला किनारमा उनीहरूले रेसुङ्गा जल उद्योग प्रा.लि. सञ्चालनमा ल्याएका हुन् ।
रेसुङ्गा–२ का विश्वास पुन, ३ का सन्तोष कुँवर र ६ का राम पन्थी मिलेर पानी उद्योग सञ्चालन गरेका हुन् । कुँवर सिभिल इन्जिनियर र पन्थी मेकानिकल इन्जिनियर हुन् । रेसुङ्गा काखमा रहेको मूलबाट प्रशोधन गरी खानेपानी बिक्री वितरण थालिएको अध्यक्ष कुँवरले बताउनुभयो । प्रति घण्टा २ हजार लिटर पानी उत्पादन क्षमताको उद्योगले अहिले १ हजार ४ सय लिटर उत्पादन गरिरहेको छ ।
चिनियाँ प्रविधियुक्त स्वचालित उद्योगमा स्थानीय १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
उद्योगबाट १ लिटर, आधा लिटर र २० लिटर जारमा पानी बजार पठाउने गरिएको सञ्चालक पन्थीले बताउनुभयो । पानी गुल्मीभरि पठाउन थालिएको उहाँले बताउनुभयो।
उद्योगका अनुसार जिल्लाको माग पूरा भएपछि अन्य जिल्ला पठाइनेछ । प्रति बोतल २० रुपैयाँ खुद्रा मूल्य तोकिएको छ । पछिल्लो समय जिल्लामा साना–ठूला उद्योग बन्द हुने अवस्थामा पुगेका बेला तीन युवा मिलेर पानी उद्योग सञ्चालन गरेका हुन् । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले ती युवाको लगावले जिल्लामा उद्योग–व्यवसायमा सम्भावना छ भन्ने देखाएको बताउनुभयो।