काठमाडौँ: खानेपानीमन्त्री प्रदीप यादव र एसियाली विकास बैंक (एडिबी) का नेपालका लागि देशीय निर्देशक आर्नो कोस्वा बीच खानेपानीको क्षेत्रमा नयाँ योजना लागु गर्ने बारे छलफल भएको छ । मन्त्रालयमा आयोजना गरिएको उक्त छलफलमा मन्त्री यादव सहित मन्त्रालयको टोली तथा एडिबीको टोली बीच एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नेपालमा सञ्चालन हुने एकीकृत खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयनको मोडालिटी लगायत विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
बैठकमा सुधारिएको शहरी खानेपानीको मोडल तथा सुधारिएको क्षेत्रीय सहरी विकास परियोजना (आरयुडिपी) मोडल गरी अघि बढ्ने दुई वटा तरिकाका विषयमा छलफल गरिएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त परियोजनाका विषयमा विगत दुई वर्षदेखि विषय उठान गरिएको भएपनि आज मन्त्री यादवको पहलमा मन्त्रालयका पदाधिकारी एवम् एडिबीका प्रतिनिधी बीच छलफल सुरु भएको हो ।
छलफलमा मन्त्री यादवले एडिबीको ऋण सहयोगमा नेपालमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा जीवनस्तर उकास्ने बिषयमा ठूला परियोजनाहरु सञ्चालन भइरहेकाले एडिबीको काम एवम् परियोजना प्रति नेपाली नागरिक पूर्ण रुपमा सन्तुष्ट रहेको बताउनुभयो ।
“एडिबीको लक्ष र परियोजना प्रति नागरिक खुशी छन्, एडिबीको लगानी सफल रहोस् । एडिबीले खानेपानीको क्षेत्रमा गर्दै आएको काम चाडो सम्पन्न होस् भन्ने मन्त्रालयको लक्ष अनि उदेश्य रहेको छ” उहाँले भन्नुभयो। मन्त्री यादवले एडिबीको निर्णयको आफु पूर्ण रुपमा सहमत रहेको र आरयुडिबी मोडेलमा जाने हो भने मन्त्रालय जान तयार रहेको तर कुन तरिकाले जाने त्यो विषयमा आवश्यक छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।
यसैगरी एसियाली विकास बैंक (एडिबी) का नेपालका लागि देशीय निर्देशक आर्नो कोस्वाले एडिबीको ऋण सहयोगमा नेपालमा विगतदेखि खानेपानी लगायतका विभिन्न क्षेत्रमा ठूला परियोजनाहरु सञ्चालन भइरहेका तथा एडिबीले सञ्चालन गरेका परियोजनाहरु समयमै सम्पन्न भइ नागरिकले स्वच्छ खानेपानी पाउन भन्ने उद्देश्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एडिबीले नेपालका धेरै ठाउँमा ठूला परियोजनामा काम गर्दै आएको छ । खानेपानीका क्षेत्रमा नयाँ परियोजना लागु हुने तयारीमा छन् । हामी चाहन्छौँ, नयाँ परियोजनाको काम चाँडो सुरुवात होस ।”