जनता नमुना माध्यमिक विद्यालय दुई तारा घोषणा, वाशका संरचना पनि हस्तान्तरण

  वास खबर सम्बाददाता  793 पटक हेरिएको

सिरहा : सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ८ स्थित श्री जनता नमुना माध्यमिक विद्यालय, चन्द्रलालपुर चोहर्वालाई दुई तारा घोषणा गरिएको छ । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुसार दुई तारे विद्यालय घोषणाका लागि आवश्यक विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका मापदण्ड पूरा गरेपछि गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष राम कुमार सिंहको अध्यक्षतामा श्री जनता नमुना माध्यमिक विद्यालयलाई दुई तारा घोषणा गरिएको हो ।

दुई तारे विद्यालय घोषणाका लागि आवश्यक खानेपानी, शौचालय, सरसफाइ, स्वच्छता हरियाली वातावरण, महिनावारी स्वच्छता व्यवस्थापन, विपत जोखिम व्यवस्थापन लगायत दश वटा मापदण्डहरु Welthungerhilfe (WHH) Nepal को सहयोगमा सबल नेपालद्वारा सिरहा जिल्लाको विभिन्न पालिकाहरुमा सञ्चालित Up-scaling WASH system Strengthening Approach in Terai region of Nepal” परियोजनाले पूरा गरेको हो।

परियोजना अन्तर्गत विद्यालयमा छात्र छात्राको लागि अपाङ्गतामैत्री, इन्सिनेरेटर सहितको शौचालय तथा पिसाब घर निर्माण, मर्मत सम्भार, बालमैत्री खानेपानी र हात धुने सुविधा शुभारम्भ तथा हस्तान्तरण र दुई तारा घोषणा कार्यक्रम एकैसाथ गरिएको सबल नेपालका वास फोकल पर्सन परमेश्वर झाले बताउनुभयो।

खानेपानी र सरसफाइ संरचनाहरु निर्माण गर्न कुल ३४ लाख ३४ हजार ६ सय १३ रुपैयाँ लगानी भएको र ती मध्ये सवल नेपालको तर्फबाट १४ लाख ६७ हजार ८ सय ५८ रुपैयाँ र विद्यालयको तर्फबाट १९ लाख ६६ हजार ७ सय ५५ रुपैयाँ योगदान बापत उपलब्ध गरिएको विद्यालयका प्रधानाध्यापक ब्रहमदेव प्रसाद सिंहले बताउनुभयो ।

दुई तारा विद्यालय घोषणा तथा संरचना हस्तान्तरण कार्यक्रममा विशिष्ट अतिथि नगर उप प्रमुख मान्ती साह, वडा नं. ८ का वडा अध्यक्ष देब नारायण महतो, वडा सदस्यहरु, WHH का इन्जिनियर श्याम चौधरी लगायत विद्यालयका शिक्षक शिक्षिकाहरु र सबल नेपालका कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता थियो।

दुई तारा विद्यालय घोषणाका लागि आवश्यक मापदण्ड

१. खानेपानी : विद्यालयमा पिउनका लागि शुद्धिकरण गरिएको पानीको व्यवस्था भएको साथै वर्षमा कम्तीमा दुइपटक पानीको गुणस्तर परीक्षण गरी सुधार गरिएको ।

२. शौचालय : बाल, लैङ्गिक, अपाङ्गता र वातावरणमैत्री युरिनल र पानी सहितको धारा भएको सुधारिएका तथा सुचारु शौचालयको व्यवस्था भएको ।

३. सफा स्वच्छ र हरियाली वातावरण : ठोस फोहरहरूलाई सिसा, धातुजन्य, रसायनमुक्त, नकुहिने र कुहिने गरी अलग अलग टोकरीमा सङकलन गरी कम्तिमा हप्तामा एक पटक विसजर्न गर्ने गरिएको साथै विद्यालय परिसरभित्र पुष्प बाटिकाको व्यवस्था भएको ।

४. खानाको स्वच्छता : विद्यालयमा व्यवस्थित र सुरक्षित तवरले दिवा खाजा तयार गर्न भाँडावर्तन, अन्य सामग्रीहरु र भान्छा घरको सुविधा भएको तथा पकाएको र नपकाएको खाद्य सामग्री छुट्टाछुट्टै राख्ने व्यवस्था भएको ।

५. स्वच्छता सुविधा : समूहमा साबुन पानीले हात धुने स्थायी सुविधा सहित साबुन र पानीको नियमित व्यवस्था भएको ।

६ स्वच्छता शिक्षा : विद्यार्थीहरूको व्यावहारिक र जीवन उपयोगी स्वच्छता शिक्षामा सक्रिय सहभागिता हुने गरेको ।

७. महिनावारी स्वच्छता व्यवस्थापन सुविधा : आकस्मिक अवस्थाका लागि सहज महिनावारी सामग्रीको उपलब्धता र प्रयोग गरिएका सामाग्रीहरूको सुरक्षित बिसर्जन गर्ने गरिएको।वा इन्सीनेटर जडान गरिएको ।

८. संस्थागत व्यवस्था र दिगोपना : विद्यालय सुधार योजनामा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना समावेश भई कार्यान्वयनमा ल्याइएको

९.विपद जोखिम व्यवस्थापन : खानेपानी, सरसफाइ तथा स्वच्छता समेतको विपद पूर्व तयारी र प्रतिकार्य योजना तयार गरिएको र जोखिम नक्साङ्कन तयार गरी सबैले देख्ने स्थानमा टाँगिएको ।

१०. अनुगमन तथा जवाफदेहिता : खानेपानी, सरसफाइ तथा स्वच्छता र महिनावारी स्वच्छता सम्पर्क शिक्षकको निगरानीमा दैनिक रूपमा शौचालयको सफाइ र साबुन पानीले हात धुने गरिएको।

विद्यालयमा निर्मित संरचनाका थप फोटाहरु :

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार