खानेपानी आयोजनामा सहलगानीको हिस्सा र ब्याजदर घटाउन कार्यविधि निर्माण

  वास खबर सम्बाददाता  467 पटक हेरिएको


सिन्धुपाल्चोक : खानेपानीमन्त्री प्रदीप यादवले सहलगानी खानेपानी आयोजना निर्माणमा उपभोक्ताले गर्नुपर्ने सहलगानीको हिस्सा घटाउन र नगर विकास कोषको व्याजदर ३ प्रतिशतमा झार्न कार्यविधि निर्माण गरिने बताउनु भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिकाको वडा नं. ६ मा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरबाट निर्माण सम्पन्न भएको ‘चौतारा खानेपानी गुणस्तर आयोजना’ को उदघाटन गर्दै खानेपानी मन्त्री यादवले खानेपानीको लागि उपयोग हुने विद्युत महसुल छुट दिन समेत कार्यविधि निर्माण गरिने बताउनुभयो । मन्त्री यादवले हिमाल, पहाड, र तराईका विभिन्न क्षेत्रमा देखा परेका खानेपानी समस्या समाधान गर्न आफू र मन्त्रालयका टोली अहोरात्र खटिएको बताउनुभयो ।

उहाँले नेपाली जनताका खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्दै शुद्ध र स्वच्छ पानी वितरण गर्ने आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताउनुभयो। ‘मन्त्रालय सम्हालेदेखि नै जनताको खानेपानी समस्या समाधानका निम्ति निरन्तर कार्यरत छु। खानेपानी क्षेत्रका समस्याहरू समाधान गर्ने म प्रतिबद्धता व्यक्त गर्दछु’ उहाँले भन्नुभयो।


आयोजनाले चौतारा साँगाचोकगढी नगरपालिका लगायत आसपासका क्षेत्रका नागरिकहरूको जीवनस्तर सुधार हुने उहाँको अपेक्षा छ । ‘विशेष गरी, सुरक्षित र प्रशोधित खानेपानी उपलब्ध गराएर स्वास्थ्य, सरसफाइ र समग्र जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउनेछुउहाँले भन्नुभयो ।

उहाँले भविश्यमा खानेपानीको गुणस्तर सुधार गर्दै क्लोरिनेशन युनिट जडान गरी सुरक्षित सेवा प्रवाह गर्न ध्यान दिनुपर्ने बताउनुभयो। यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागको दीर्घकालीन योजना अन्तर्गत स्मार्ट वाटर म्यानेजमेन्ट प्रणाली लागु गर्नुपर्ने बताउनुभयो।

९ करोड ८७ लाख रुपैयाँ को अनुमानित लागतमा निर्मित यस आयोजनाबाट करिब ३० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । होल्चे-थालखर्क-जुगलमा रहेको स्रोतबाट २२.५० किलोमिटर लामो पाइपलाइन मार्फत पानी ल्याईएको हो ।

चौतारा, स्याउले तथा आसपासका ५ हजार ५ सय भन्दा भन्दा बढी घरधुरीमा खानेपानी सेवा विस्तार गरिएको छ। आयोजना अन्तर्गत सेडिमेन्टेसन ट्याङ्क, स्लो स्यान्ड फिल्टर, क्लोरिनेट युनिट, भल्भ च्याम्बर, र कार्यालय भवन लगायतका संरचनाहरू निर्माण गरिएका छन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार