
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ र स्वच्छता (वाश) क्षेत्रलाई राजनीतिक मुद्दा बनाउन सबै राजनीतिक पार्टीका अध्यक्षहरुलाई पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। समावेशी, जलवायु उत्थानशील र सुरक्षित रुपमा व्यवस्थित सरसफाइ सेवाको प्रतिबद्धताका लागि आयोजित राजनीतिक संवादमा खानेपानी मन्त्री यादवले सबै पार्टीका प्रमुखालाई पत्राचार गरेपछि हरेक दलले गाउँ स्तरमा भएका आफ्ना राजनीतिक संगठनसम्म परिपत्र गर्ने बताउनुभयो।
मन्त्री यादवले खुला दिसामुक्त अभियानका क्रममा हरेक राजनीतिक दलले केन्द्रमा गरेको निर्णय जिल्ला तहसम्म सर्कुलर गरेकाले गाउँस्तर सम्म खुला दिसामुक्त अभियान सञ्चालन गर्न राजनीतिक कार्यकर्ताहरु परिचालन भएको स्मरण गर्दै समावेशी, जलवायु उत्थानशील र सुरक्षित रुपमा व्यवस्थित सरसफाइका सवालमा पनि त्यसै गरी परिचालित हुनुपर्ने बताउनुभयो।
उहाँले समावेशी, जलवायु उत्थानशील र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सेवालाई सशक्त बनाउन सबै भन्दा पहिले आफ्नै पार्टीको केन्द्रीय स्तरबाट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
‘समावेशी, जलवायु उत्थानशील र सुरक्षित रुपमा व्यवस्थित सरसफाइ सेवालाई प्राथमिकतामा राख्नुपर्ने बिषयलाई क्याबिनेटमा पनि लैजान्छु’ मन्त्री यादवले भन्नुभयो ‘मैले प्रतिबद्धता जनाए पनि म त्यसलाई व्यवहारमा उतारेरै देखाउँछु ।’
मन्त्री यादवले सातवटै प्रदेशका मुख्यमन्त्रीको अगुवाईमा खानेपानी र सरसफाइको बिषयगत मन्त्रालयका मन्त्रीसँग बैठक राखी समावेशी, जलवायु उत्थानशील र सुरक्षित रुपमा व्यवस्थित सरसफाइ सेवालाई प्राथमिकतामा राखी कार्यक्रम निर्माण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले यो कार्यक्रम बजेट निर्माणको पूर्व सन्ध्यामा आयोजना भएकाले बजेट बनाउन पनि उत्तिकै प्रभावकारी हुने बताउनुभयो । ‘फागुन १५ बाट बजेट बन्छ । यस बर्ष हामीलाई २६ अर्बको बजेट सिलिङ प्राप्त भएको छ, यो कार्यक्रमले खानेपानी र सरसफाइको बजेट बनाउन दिशा निर्देश गरेको छ’ उहाँले भन्नुभयो।

उहाँले झापा देखि कन्चपुरसम्मका तराईका २२ वटा जिल्लामा अधुरा रहेका ओभर हेड ट्याङ्कमा आधारित खानेपानी तथा सरसफाइ योजनाहरु सम्पन्न गर्न बजेटको पहिलो प्राथमिकता हुने बताउनुभयो। आगामी आर्थिक बर्षको लागि बनाईने बजेट विगतको भन्दा फरक हुने र यसमा गाउँपालिका, नगरपालिका, विषय विज्ञ, उपभोक्ता समिति सबै सरोकारवालासँग छलफल गरेर मात्र बनाईने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसै गरी संघ, प्रदेश र स्थानीय तहका सरकारले समन्वय गरी एकताबद्ध रूपमा लिखित प्रतिबद्धता जनाएमा वासको क्षेत्रमा महत्वपूर्ण फड्को मार्न सक्ने बताउनुभयो। उहाँले राजनीतिक प्रतिबद्धतालाई सुदृढ गर्दै वास सेवा सुनिश्चित गर्न तीनै तहका सरकारबीच मजबुत सहकार्यको आवश्यकता रहेको औल्याउनुभयो।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य कमला पन्त, गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डे, कणाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढा, पूर्वमन्त्री गणेश शाह र धुलिखेल नगरपालिकाका मेयर अशोक व्यञ्जुले पनि समावेशी, जलवायु उत्थानशील र सुरक्षित रुपमा व्यवस्थित सरसफाइ सेवालाई प्राथमिकताको क्षेत्र बनाउन आ (आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


322 पटक हेरिएको 

