हरेक खानेपानी प्रणालीमा क्लोरिनेसन युनिट अनिवार्य जडान गर्नुपर्ने सरकारको निर्णय

सुरक्षित खानेपानीमा पहुँच अभिवृद्धि हुने अपेक्षा

  वास खबर सम्बाददाता  724 पटक हेरिएको

काठमाडौ : देशभरका प्रत्येक खानेपानी प्रणालीमा अब क्लोरिन डोजिङ युनिट अनिवार्य जडान गर्नु पर्ने भएको छ ।  बिहीबारको मन्त्रीस्तरीय निर्णयले अब देखि हरेक खानेपानी प्रणालीमा अनिवार्य क्लोरिनेसन युनिट अनिवार्य जडान गर्नुपर्ने निर्णय गरेको हो ।

सरकारले खानेपानीको गुणस्तर सुधार गर्न दीर्घकालीन योजना बनाएकाले अब देशभरका प्रत्येक खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट अनिवार्य रूपमा जडान गर्नु पर्ने मन्त्री यादवले बताउनुभयो । “खानेपानी मात्र पर्याप्त भएर हुँदैन, गुणस्तरीय र सुरक्षित हुनु पनि जरुरी छ । सुरक्षित पिउने पानी जनताको आधारभूत अधिकार हो र सरकार त्यसको प्रत्याभूति गर्न कटिबद्ध छ” उहाँले भन्नुभयो ।

दिगो विकास लक्ष्य ६ ले २०३० भित्र ९० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित पिउने पानीको पहुँचमा ल्याउने लक्ष्य राखेको छ भने १६औं आवधिक योजनाले ४५ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित पानीको पहुँच पुर्‍याउने उल्लेख छ। संघ, प्रदेश, तथा स्थानीय तहको सहकार्यमा क्लोरिन युनिट प्रविधि प्रभावकारी रूपमा कार्यान्वयन गरिने मन्त्री यादवले बताउनुभयो ।

मन्त्रालयका सचिव ई। प्रमिलादेवी शाक्य बज्राचार्यका अनुसार यो निर्णय आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि कोसेढुङ्गा सावित हुनेछ । “मन्त्री ज्युले अब प्रत्येक खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्णय गर्नु भएको छ । यस निर्णयले आम नागरिकलाई सुरक्षित, शुद्ध, र गुणस्तरीय पिउने पानी सुनिश्चित गर्दै पानीजन्य रोगको जोखिमलाई न्यून गर्नेछ” उहाँले बताउनुभयो ।

यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले शुद्ध खानेपानीको पहुँच बढाउन क्लोरिनेसन एउटा प्रवेश विन्दु भएको र यसलाई एक अभियान तथा कार्यक्रमको रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “खानेपानी तथा सरसफाई सेवा निर्माण र सञ्चालन गरिरहेका सरकारी र गैरसरकारी निकाय सबैले आ–आफ्नो खानेपानी योजनामा क्लोरिनेसन वा यस्तै अन्य शुद्धिकरणको विधि अनिवार्य लागु गर्नु पर्दछ । यसका साथै खानेपानी प्रशोधन प्रणालीका संरचना निर्माणलाई समेत तीव्रता दिनुपर्छ ।”

क्लोरिन डोजिङ युनिट जडानको अनिवार्यता लागू भएसँगै दूषित पानीका कारण हुने रोगहरूको दरमा उल्लेखनीय गिरावट आउने विश्वास गरिएको छ । सरकारको यो निर्णयले देशभरि स्वच्छ, सुरक्षित, र गुणस्तरीय पिउने पानीको सुनिश्चितता गर्दै नागरिकको स्वास्थ्य सुरक्षामा योगदान पुर्‍याउनेछ । नेपाल सरकार सुरक्षित पिउने पानी, स्वस्थ नागरिक अभियान प्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।

यद्यपि हरेक खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट जडान गर्न आवश्यक वित्तिय प्रबन्ध, जनशक्ति र क्लोरिनको आपूर्ति कसरी गर्ने भन्ने बिषयमा भने केही उल्लेख गरिएको छैन । सरकारले गरेको यो निर्णय ऐतिहासिक भए पनि उत्तिकै चुनौतीपूर्ण पनि रहेको खानेपानी र सरसफाइ क्षेत्र विज्ञहरुको तर्क छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार