स्वच्छ भारत अभियानमा अपनाइएका प्रविधि नेपालले पनि अबलम्बन गर्ने

  वास खबर सम्बाददाता  406 पटक हेरिएको


काठमाडौ : नेपाल सरकारले स्वच्छ भारत अभियानमा अपनाइएका प्रविधि अबलम्बन गर्ने भएको छ । खानेपानी, सरसफाइ र स्वच्छता तथा फोहोर व्यवस्थापनको क्षेत्रमा सहकार्य गर्न भारत गणराज्य सरकार र नेपाल सरकार बीच भारत सरकारद्वारा स्वच्छ भारत अभियान अन्तर्गत स्वच्छता तथा फोहोर व्यवस्थापनका लागि अपनाइएका प्रविधि हस्तान्तरण गर्न समझदारी भएको हो ।

यसका लागि भारतका विभिन्न तालिम संस्थाहरूमा नेपाली कर्मचारीहरूलाई तालिम प्रदान गर्नेछ । नेपाल सरकारको अनुरोध अनुसार भारतले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा प्राविधिक सहायता समेत उपलब्ध गराउनेछ ।

खानेपानी, सरसफाइ र स्वच्छता तथा फोहोर व्यवस्थापनको क्षेत्रमा सहकार्य गर्न दुई देश बीच भएको समझदारीले अध्ययन अनुसन्धान, विकास परियोजना सम्बन्धी जानकारी आदानप्रदान, तालिम, क्षमता विकास तथा आदानप्रदान कार्यक्रमहरू सञ्चालन, स्थलगत भ्रमणहरू, पारस्परिक रूपमा संयुक्त सेमिनार, गोष्ठी तथा सम्मेलनहरू आयोजना गर्न पर्याप्त अवसर सिर्जना गर्ने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले बताउनुभयो।

हेर्नुहोस् भिडियोः


भारतको राजधानी नयाँ दिल्ली स्थित जलशक्ति मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा नेपाल सरकारको तर्फबाट खानेपानीमन्त्री प्रदीप यादव र भारत गणराज्य सरकारको तर्फबाट जलशक्ति मन्त्री सिआर पटिलले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो।

दुवै देशहरू बीच मैत्रीपूर्ण सहकार्यलाई प्रबर्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर सरकारी सहकार्यलाई सुदृढ गर्ने, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्दै, सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्यले दुई देश बीच समझदारी भएको हो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार