
बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका–४ स्थित पाञ्चजन्य माध्यमिक विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको छ। विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि -२०८१ अनुसार तीन तारा घोषणाका लागि आवश्यक खानेपानी, सरसफाइ तथा स्वच्छताका सबै मापदण्ड पूरा भएपछि बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले पाञ्चजन्य माध्यमिक विद्यालयलाइ तीन तारे विद्यालय घोषणा गर्नुभयो ।
बारबर्दिया नगरपालिका, युके एड, वाटर एडको सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासंघ, र नेपाल प्रजनन स्याहार केन्द्रको संयुक्त प्रयासमा वास गेन्स परियोजना अन्तर्गत तीन तारे विद्यालय घोषणा गरिएको हो।
बारबर्दियामा तीन तारे घोषणा भएका विद्यालय मध्ये पाञ्चजन्य माध्यमिक विद्यालय तेस्रो विद्यालय हो । यस अघि बारबर्दिया नगरपालिका ११ स्थित श्री नेपाल प्राज्ञिक आधारभूत विद्यालय जब्दी र वडा नं. ८ को जनज्योति आधारभूत विद्यालयलाई तीन तारे घोषणा गरिसकेको छ ।

नगरप्रमुख थारुले घोषणा कार्यक्रममा तीन तारे मान्यता निरन्तर कायम राख्न सरसफाइ, विद्यार्थीको अनुशासन तथा शैक्षिक गुणस्तर वृद्धिको आवश्यकतामा जोड दिनुभयो। उहाँले विद्यालयको भौतिक संरचना मात्र नभई शैक्षिक गतिविधि, सामुदायिक वातावरण र सरसफाइमा पनि नमुना बन्नुपर्ने बताउनुभयो । अभिभावकहरूको सचेतना र शिक्षकहरूको जिम्मेवारीपूर्ण भूमिकाले मात्र विद्यालयलाई उत्कृष्ट बनाउन सकिन्छ उहाँले भन्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्नकुमारी पाण्डेले सरसफाइलाई निरन्तरता दिन नसके तीन तारेको मान्यता कायम राख्न कठिन हुने बताउनुभयो। साथै विद्यालय सरसफाइ जस्तै शैक्षिक स्तर पनि निरन्तर उकास्नुपर्ने बताउनुभयो । उहाँले पालिकाले मर्मत सम्भार कोष स्थापना गरिसकेको हुँदा कुनै संरचना बिग्रिएमा तत्काल मर्मत गर्नुपर्नेमा जोड दिनुभयो।
राजनीतिक दलका प्रतिनिधिहरूले पनि विद्यालयको तीन तारे घोषणासँगै शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनीहरूले बारबर्दिया नगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराए।
विद्यालयले खानेपानी, शौचालय, स्वच्छ वातावरण, व्यक्तिगत सरसफाइ, सरसफाइ सुविधा, सरसफाइ शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्थापन र दिगोपन, विपद् जोखिम व्यवस्थापन तथा अनुगमन तथा जवाफदेहिताका सम्पूर्ण चरण पूरा गरेपछि तीन तारे विद्यालय घोषणा गरिएको हो।
कार्यक्रममा विभिन्न वक्ताहरूले विद्यालयमा सरसफाइको स्थायित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने धारणा व्यक्त गरे ।
घोषणा कार्यक्रममा सहयोगी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, नगरपालिकाका कर्मचारी, विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरू, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उत्साहजनक उपस्थिति रहेको थियो।


316 पटक हेरिएको 

