
जुम्ला : जुम्लाको हिमा गाउँपालिका–२ मा महिलाहरुको नेतृत्वमा कोइरेली खानेपानी तथा सरसफाइ योजनाको निर्माण भैरहेको छ । पुरुषहरु परदेश लागेपछि स्थानीय महिलाको अगुवाईमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गर्न थालिएको हो ।
स्थानीय अगुवा चन्द्रबहादुर रोकायाका अनुसार उहाँ जस्तै उक्त गाउँका उपभोक्ता समितिमा बसेका महिला पुन्नकला रोकाया, शान्ति रोकाया, हरिकला रोकाया, कन्नकला रोकाया लगायत धेरै महिलाले विकास निर्माणका काममा अगुवाई थालेका छन् । उनीहरूले गाउँबाट झन्डै पाँच किलोमिटर टाढाबाट पानी ल्याउने योजनामा सरिक भएका हुन् । उहाँले महिलाको सहभागितामा गाउँमा खानेपानीको कुलो खन्ने काम सम्पन्न भईसकेको बताउनुभयो।
हिउँदे सिजनमा यस क्षेत्रका पुरुष धेरै जसो रोजगारीका सिलसिलामा भारत तथा नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय गर्न जाने भएकाले कुनै काम तथा योजना भएमा महिलाले नै धान्ने गरेका छन् । स्थानीय चन्द्रवीर रोकायाका अनुसार यस वर्ष गाउँबाट झन्डै चार हजार सात सय मिटर टाढा दुवाडेको रिकखोलाबाट कुलो खनेर पानी ल्याइएको छ ।
त्यसमा अधिकांश श्रम तथा काम गर्ने महिला छन् । हिमा गाउँपालिकामा खानेपानी क्षेत्रमा खानेपानीमा काम गर्दै आएको सुस्वा परियोजना संयोजक सुमित्रा शाहीले विकास निर्माणका योजनामा काम गर्न महिलाको अगुवाई सराहनीय भएको बताउनुभयो । हिउँदे सिजनमा व्यापार तथा विभिन्न सवालमा पुरुष जिल्ला बाहिर गएको समयमा विकासको कामको अगुवाई महिलाले लिने गरेका छन् ।
उहाँका अनुसार बर्सौंदेखि खानेपानी अभाव रहेको कोइरेल गाउँमा हिमा गाउँपालिकाको सहकार्य तथा सुस्वा आयोजनाको सहकार्यमा खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार खानेपानीको अभाव भोगिरहेको कोइरेली गाउँलाई मध्यनजर गर्दै हिमा गाउँपालिकाको लागतमा खानेपानी निर्माण अन्तिम चरणमा पुगेको हो । गाउँपालिकाका अनुसार यो योजनामा जम्मा ४४ घरमा एक घर एक धारा र एक हिमा आधारभूत विद्यालयमा धारा निर्माण हुने छ ।
खेर गएको खानेपानीको उपयोग गर्न दुई वटा सिँचाइ पोखरी निर्माण गरेर स्याउ, करेसाबारी, कोसेबालीको सिँचाइ गरिने छ । कोइरेली खानेपानी तथा सरसफाइ योजनाको कुल लागत ६७ लाख ९७ हजार ७२५ रहेको मध्ये हिमा गाउँपालिकाको ५४ लाख ६६ हजार र उपभोक्ताको श्रमदान १३ लाख ३१ हजार रहेको छ ।


337 पटक हेरिएको 

