जंगलभित्र निर्मित पानी पोखरीले खानेपानीको मूल बृद्धि, डढेलो निभाउन पनि उपयोगी

  वास खबर सम्बाददाता  445 पटक हेरिएको

हेटौँडा : पश्चिम मकवानपुरको मनहरी गाउँपालिका सुनाचुरी सामुदायिक वनको बीचमा एउटा पोखरी छ । पोखरीबाट न अन्यत्र कतै पाइप लगाएर पानी लगिएको छ, न त कसैले पोखरीबाट पानीको उपभोग गर्ने सम्भावना नै छ । जङ्गलको बीच भागतिर मानवबस्ती कहीँ कतै पनि छैन ।

सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहका सचिव रमेश कार्कीका अनुसार गत वर्ष पनि समूहले यस्तै पोखरी निर्माण गरिएका थिए । सिँचाइ र खानेपानीको आपूर्ति र व्यवस्थापनतिर सहज होस् भनेर यस्ता पानी पोखरी वनजङ्गलको बीच भागमा निर्माण गरिने गरिएका छन् । पोखरी निर्माण गरी प्राकृतिक रूपमा पानीको भण्डारण गर्ने र वन्यजन्तुलाई सुक्खा मौसममा पानी पिउनका लागि सजिलो बनाउनका लागि यस्तो काम गरिएको कार्की बताउनुहुन्छ ।

सुनाचुरी सामुदायिक वन उपभोक्ता समूह जस्तै डिभिजनल वन कार्यालय मनहरी राप्तीले स्थानीय सामुदायिक वनसँगको समन्वयमा यस आर्थिक वर्षमा १२ वटा जति पानीपोखरी निर्माण गरिरहेको छ । एक ठाउँमा निर्मित पोखरीले अन्य तल्लो तटीय क्षेत्रमा खानेपानीको मुुहानका रूपमा काम गरोस् भन्ने हेतुले सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण गर्नु परेको डिभिजन वन कार्यालय राप्ती मनहरीका योजना शाखा प्रमुख दामोदर पाण्डे बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “हामीले महाभारत र चुरे क्षेत्रमा निर्माण गरिदिएका पोखरीले तल्लो तटीय क्षेत्र अर्थात् चुरे क्षेत्रतिर पानीको मुहानलाई योगदान गरोस् भन्ने मान्यता राखेका छौँ ।” सुक्खा मौसममा पोखरीमा सङ्कलन भएको पानी वन्यजन्तुले तिर्खाएको बेलामा उपभोग गर्न समेत मिल्ने भएकाले वन्यजन्तुलाई समेत सजिलो भएको उहाँले बताउनुभयो ।

अहिले वनडढेलोका कारण जताततै गर्मी र तातो मौसम भएका कारण तिर्खाएका वन्यजन्तुलाई पोखरीले राहत पु(याउने अपेक्षा गरिएको छ ।

डिभिजनल वन कार्यालय राप्ती मनहरीका अनुसार यस वर्ष १२ वटा पोखरी बन्ने छन् । तीमध्ये थाहा नगरपालिकामा वज्रवाराही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको समन्वयमा १५ लाख रुपियाँ लगानीमा मुहान संरक्षणसहितको कार्य भइरहेको छ ।

स्थानीय सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सामुदायिक महासङ्घको समेत सहकार्यमा पानी पोखरीका काम अघि बढिरहेको डिभिजनल वन कार्यालय राप्ती मनहरीले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार