काभ्राडाँडामा ‘एक घर, एक धारा’ सफल, स्थानीयमा खुशीको लहर

  वास खबर सम्बाददाता  425 पटक हेरिएको

बागलुङ : बागलुङ नगरपालिका–१३ पैयुँपाटा काभ्राडाँडाका बासिन्दाका लागि बहुप्रतीक्षित ‘एक घर, एक धारा’ योजना सञ्चालनमा आएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाको सहयोग र बागलुङ नगरपालिकाको साझेदारीमा २१ घरधुरीलाई लक्षित गर्दै लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो।

यस योजनाले खानेपानीका लागि १५ देखि ३० मिनेट टाढाको खोल्सामा पुगेर लामो समय प्रतीक्षा गर्नुपर्ने बाध्यताको अन्त्य गरेको छ। स्थानीय ७६ वर्षीया बालिका रिजालले विगतमा कुवाबाट पानी ल्याउनुपर्ने पीडा सुनाउँदै अहिले घरघरमै धारा जडान भएपछि दैनिक जिउँदोपीडाबाट मुक्त भएको अनुभव सुनाउनुभयो। रिजालले भन्नुभयो, “अब लाइन बस्नुपर्ने, पानी लिन टाढा जानुपर्ने जस्ता समस्याबाट हामी मुक्त भएका छौं।”

खानेपानी समस्या अन्त्य भएपछि काभ्रेडाँडाका बासिन्दाहरू भविष्यप्रति आशावादी देखिएका छन्। रिजालले खुशी हुँदै भन्नुभयो, “दुःखका दिन गए, अब हाम्रा सन्तानले आफ्नै घरमा धारोबाट पानी पिउन पाउने भए। पानी आयो, जीवन आयो। अब हाम्रो गाउँ पछि पर्ने छैन।”

आयोजना सञ्चालन समितिका अध्यक्ष नरप्रसाद रिजालले लिफ्टिङ प्रविधिमार्फत घरघरमा पानी पुर्‍याउन सफल भएसँगै बर्सौँदेखिको दुःख अन्त्य भएको बताउनुभयो। साथै उहाँले बागलुङ नगरपालिकाको साझेदारी र नेवाको सहयोगमा सम्पन्न यस आयोजनाले काभ्राडाँडालाई सफा र स्वच्छ समुदायको रूपमा घोषणा गर्न मद्दत गरेको उल्लेख गर्नुभयो। अध्यक्ष रिजालले भन्नुभयो, “हामीले पानी मात्रै होइन, घरआँगन कसरी सफा राख्ने भन्ने कुरा पनि सिकेका छौं।”

आयोजना काभ्राडाँडा तलको सिमको खेतमा रहेको मूलबाट लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिएको हो। कुल २४ लाख ६० हजार ७ सय रुपैयाँ लागतमा सम्पन्न आयोजनामा नेवाबाट ११ लाख ७३ हजार ५० रुपैयाँ, बागलुङ नगरपालिकाबाट ८ लाख ८४ हजार ६९० रुपैयाँ र स्थानीय जनश्रमदानबाट ४ लाख २ हजार ९६० रुपैयाँ लगानी गरिएको अध्यक्ष रिजालले जानकारी दिनुभयो। आयोजनामार्फत १ इन्टेक संरचना, २ आरभीटी ट्याङ्की र २१ वटा धारा निर्माण गरिएको छ।

बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन नगरपालिका निरन्तर प्रयासरत रहेको बताउनुभयो। उहाँले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै ‘एक घर, एक धारा’ अभियान नगरभित्र फैलाउने योजना रहेको उल्लेख गर्नुभयो। श्रेष्ठले भन्नुभयो, “नेवाको साझेदारीमा काभ्राडाँडाका बासिन्दाको बहुप्रतीक्षित सपना साकार भएको छ। आगामी दिनमा अन्य बस्तीहरूमा पनि खानेपानी समस्या समाधान गर्दै सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याइनेछ।”

नेवा गण्डकी प्रदेशका प्रमुख रमेश दाहालले जिल्लाका विभिन्न स्थानहरूमा लिफ्टिङ र ड्रिलिङ प्रविधि मार्फत खानेपानी आयोजना सञ्चालन गरी ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार