
राजविराज : खानेपानी सरसफाइ तथा स्वच्छता प्रबर्द्वनका लागि पालिकाहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रगत कार्यक्रम र बजेट राख्ने प्रतिबद्धता जनाएको छ ।
राजविराजमा सम्पन्न स्थानीय तहको खानेपानी सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी दुई दिने कार्यशालामा सिरहाको सिरहा नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका तथा सप्तरीको सुरुङ्गा नगरपालिका, शम्भुनाथ नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र बलान बिहुल गाउँपालिका प्रमुखहरुले वास सुशासन क्षेत्रका लागि आवश्यक ऐन, कार्यविधि तथा मापदण्डहरु पारित गर्दै प्रभावकारी कार्यान्वयनका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

युनिसेफको सहयोगमा हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा आयोजित सो कार्यशालामा सप्तरीका ६ वटा र सिरहाका दुई वटा पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कानुनी सल्लाहकार, विधायन समितिका सदस्य तथा सम्बन्धित शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यशालामा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐन, कार्यविधि तथा मापदण्डहरु बनाउन छलफल गरिनुका साथै मस्यौदा समेत तयार गरिएको र वास योजना प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना समेत बनाइएको युनिसेफका वास अधिकृृत अन्नपूर्ण मिश्रले जानकारी दिनुभयो ।
कार्यशालामा सहभागी ८ वटै पालिकाहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रको कार्यक्रम सञ्चालन गर्न न्यूनतम ५० लाख देखि डेढ करोड रुपैयाँ सम्मको कार्ययोजना बनाएको हनुमाननगर कंकालिनी नगरपालिकाका वास सम्पर्क ब्यक्ति अमित पाठकले जानकारी दिनुभयो ।
हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बीरेन्द्र माझीको अध्यक्षतामा सम्पन्न कार्यशालामा सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी, शम्भुनाथ नगरपालिकाका कार्यबाहक प्रमुख अनिता कुमारी चौधरी सहितले वास कार्ययोजनालाई प्रभाकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।


458 पटक हेरिएको 

