
सिन्धुली : “पानीको लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता अब अन्त्य भयो, अब त घरकै धारा खोल्दा पानी बग्छ,” सुनकोशी गाउँपालिका–६ की ६५ वर्षीया सावित्री घिसिङले बताउनु भयो। दशकौँदेखिको तिर्खा अन्त्य गर्दै नाङ्गे डाँडा बृहत् पम्पिङ खानेपानी योजना सञ्चालनमा आएपछि स्थानीयवासीको दैनिकीमा ऐतिहासिक परिवर्तन आएको हो।
सुनकोशी गाउँपालिका–५ र ६ का पहाडी बस्तीमा शुद्ध र नियमित खानेपानी पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको योजनाको खानेपानीमन्त्री प्रदीप यादवले उदघाटन गर्नु भयो। खानेपानी आयोजनाबाट करिब ४ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्।
पम्पिङ प्रविधिको प्रयोग गरी उचाइमा रहेको बस्तीहरूसम्म पानी पुर्याउने यो योजना सिन्धुलीको ग्रामीण भेगमा हालसम्मकै ठूलो खानेपानी परियोजनाका रूपमा लिइएको छ।
खानेपानीमन्त्री यादवले भन्नुभयो “यो केवल पानीको योजना होइन, यो स्थानीय विकास, स्वास्थ्यमूलक जीवनशैली र आत्मनिर्भरताको मार्ग हो।” उहाँले परियोजनाको सफल कार्यान्वयनमा जुटेका सम्पूर्ण प्राविधिक, कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासीलाई धन्यवाद दिनु भयो।
स्थानीय युवा सुवास मगरले भन्नुभयो, “अब गाउँमै सरसफाइ सुधार भएको छ, बालबालिका समयमै स्कुल पुग्न थालेका छन्, हाम्रो जीवनशैलीमै परिवर्तन आएको छ।”
परियोजनाले केवल खानेपानी मात्र हैन, आर्थिक क्रियाकलाप, स्वास्थ्य अवस्था र महिलाको श्रमको बोझ समेत घटाएको जनाइएको छ।
सुनकोशी गाउँपालिकामा यस योजनालाई ‘दिगो, समावेशी र प्रविधि–मैत्री पूर्वाधार’को उदाहरणका रूपमा लिइएको छ। यसबाट सिकेर अन्य वडाहरूमा पनि यस्ता योजनाहरू विस्तार गर्ने संकेत गाउँपालिकाले दिएको छ।


422 पटक हेरिएको 

