
राजविराज : सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विद्यालय, स्वास्थ्य संस्था तथा समुदाय स्तरमा खानेपानी, सरसफाई तथा स्वच्छता (WASH) सुधार सम्बन्धी योजनाहरुलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
नगरपालिकाले युनिसेफको समन्वय तथा सहकार्यमा आयोजना गरेको दुईदिने “खानेपानी, सरसफाई तथा स्वच्छता योजना समिक्षा तथा वित्तीय रणनीति तर्जुमा कार्यशाला” को समापन कार्यक्रममा सो प्रतिबद्धता सार्वजनिक गरिएको हो। कार्यशालाको निष्कर्षस्वरूप नगरपालिकाले निर्माण गरिएको वास प्लान (WASH Plan) मा आधारित रही प्राथमिकताको क्षेत्रहरुमा लगानी तथा सहलगानीको नीति अवलम्बन गर्ने स्पष्ट जनाएको छ।
नगर प्रमुख वीरेन्द्र माझीले संघीय, प्रादेशिक तथा विकास साझेदार संस्थाहरूसँगको सहकार्य एवं समन्वयमार्फत् खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यक्रमहरुलाई व्यवस्थित रुपमा सञ्चालन गरिने जानकारी दिनुभएको छ। उहाँले प्रत्येक आर्थिक वर्षमा नगरपालिकाको नीति तथा कार्यक्रमभित्र वास सम्बन्धी योजनाहरु समावेश गरी ती कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो। उहाँले वास सेवालाई नागरिकको मौलिक हकका रूपमा मान्दै त्यसको सुनिश्चितता गर्न प्रतिबद्ध रहेको दोहोर्याउनुभयो।

नगर उप–प्रमुख सरिता सिपलिया यादवज्यूले पनि खानेपानी र सरसफाई जनताको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै, जनताको आवश्यकता सम्बोधन गर्न आफू सधैँ क्रियाशील रहने प्रतिबद्धता प्रकट गर्नुभयो।
सोही अवसरमा युनिसेफकी वास अफिसर अन्नपूर्णा मिश्रले दिगो विकास लक्ष्य (SDG) अन्तर्गत “सर्वसाधारणका लागि सुरक्षित खानेपानी, व्यवस्थित सरसफाई र स्वच्छता सुनिश्चितता” सम्बन्धी नेपाल सरकारको प्रतिबद्धतालाई स्मरण गराउँदै, ती लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारबीच समन्वय, नीति तथा कानूनी संरचना, संस्थागत व्यवस्थापन तथा राष्ट्रीय खानेपानी, सरसफाई तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली (National WASH MIS) मा आधारित योजना तथा बजेट निर्माण अनिवार्य रहेको उल्लेख गर्नुभयो।
नगरपालिकाका वास सम्पर्क व्यक्ति अमित पाठकले विद्यालय र स्वास्थ्य संस्थामा पहुँचयुक्त खानेपानी तथा सरसफाईको पहुँच विस्तार गर्न मर्मत–सम्भार तथा संरचना निर्माण गरिने जानकारी दिनुभयो। साथै, वडा तहमा सरसफाई तथा स्वच्छता प्रवर्द्धन कार्यक्रमहरु समेत सञ्चालन गरिने जानकारी गराउनुभयो।
उक्त कार्यशालामा नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न विषयगत शाखाका प्रमुखहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यशालाको सहजीकरण युनिसेफकी वास अफिसर अन्नपूर्णा मिश्र, वास विज्ञ बलराम मायालु, अमन रौनियार तथा सबल नेपालका परमेश्वर झा र राजेश झा लगायतले गर्नु भएको थियो।


565 पटक हेरिएको 

