चक्रपथ बाहिरका यी स्थानमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण हुँदै

६३ हजार घरधुरी लाभान्वित हुने लक्ष्य

  वास खबर सम्बाददाता  502 पटक हेरिएको
🔗
71
Shares

काठमाडौं : काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण कार्य सुरु गरिने भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले नेपाल सरकारको बजेट र एसियाली विकास बैंकको सहयोगमा यो आयोजना अघि बढाएको हो।

सात नगरपालिका समेटिएको आयोजना

दोस्रो चरणको आयोजना काठमाडौं, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाका विभिन्न क्षेत्रहरूमा कार्यान्वयन गरिने आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई. बिकेश बधानथाछेले जानकारी गराउनुभयो।

८७५ किलोमिटरभन्दा बढी पाइपलाइन बिछ्याइने

आयोजनाअन्तर्गत कूल ८७५.४ किलोमिटर खानेपानी वितरण सञ्जाल निर्माण गरिनेछ।

  • भक्तपुर र सूर्यविनायकमा १५१.३० कि.मि.
  • कीर्तिपुर, काठमाडौं र चन्द्रागिरीमा ७५.९८ कि.मि.
  • मध्यपुर थिमीमा ३०८.१५ कि.मि.
  • कपन र जोरपाटी उत्तर क्षेत्रमा २००.२३ कि.मि.
  • जोरपाटी दक्षिण र पेप्सीकोलामा १३९.७४ कि.मि. पाइप बिछ्याइनेछ।

यस सञ्जालमा ८२८.९२ कि.मि. PE पाइप र ४६.४८ कि.मि. DI पाइप प्रयोग गरिनेछ।


निर्माण पाँच प्याकेजमा विभाजन

निर्माण कार्यलाई छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न भक्तपुर, कीर्तिपुर, थिमी, कपन, जोरपाटी उत्तर तथा दक्षिण र पेप्सीकोला क्षेत्रलाई गरी पाँच प्याकेजमा विभाजन गरिएको आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई. बधानथाछेले जानकारी गराउनुभयो।

उहाँका अनुसार निर्माण सम्पन्न भएपछि करिब ६३ हजार घरधुरी मेलम्चीको पानीबाट लाभान्वित हुने अनुमान गरिएको छ। निर्माण कार्य सुरु भएको मितिबाट तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

एक वर्षसम्म सञ्चालनको जिम्मेवारी निर्माण व्यवसायीलाई

निर्माण सम्पन्न भएपछि एक वर्षसम्म वितरण प्रणालीको स्थिरीकरण र सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने व्यवस्था गरिएको छ। यसअघि सम्पन्न पहिलो चरणमा करिब ३० कि.मि. प्राइमरी पाइपलाइन र ९८० कि.मि. वितरण सञ्जाल गरी १०१० कि.मि. नयाँ पाइपलाइन बिछ्याइएको थियो।

१० पानीपोखरी र ७७ कि.मि. थोक वितरण पाइपलाइन निर्माण

पहिलो चरणमा उपत्यकाका विभिन्न ९ स्थानमा १० पानीपोखरी निर्माण गरिनुका साथै सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट पानी आपूर्ति गर्न ७७ कि.मि. थोक वितरण पाइपलाइन बिछ्याइएको आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई. बिकेश बधानथाछेले जानकारी गराउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार