अब हिँड्नु पर्दैन पानीको खोजीमा : पञ्चपुरीमा सालकोट बृहत खानेपानी आयोजनाको उद्घाटन

  वास खबर सम्बाददाता  511 पटक हेरिएको

सुर्खेत : कहिल्यै नरोकिने छङछङ बग्ने खोला जस्तै, सुर्खेतको पञ्चपुरी नगरपालिका सालकोटका जनताको जीवनमा बगेको दुःखको खोला अब रोकिएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–१, २ र ३ का हजारौं नागरिकहरूको अनुहारमा मुस्कान छाएको छ। कारण हो सालकोट बृहत खानेपानी आयोजना।

मंगलबार पञ्चपुरी शिवशक्ति धामको पवित्र आँगनमा आयोजना गरिएको विशेष समारोहमा खानेपानीमन्त्री प्रदीप यादवले सालकोट बृहत खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्दै भन्नुभयो “स्वास्थ्य, शिक्षा र समृद्धिको ढोका खोल्ने चाबी हो सुरक्षित खानेपानी। अब पञ्चपुरीबासीलाई शुद्ध र पर्याप्त पानीको सहज पहुँच हुनेछ, जुन परिवर्तनका लागि महत्वपूर्ण पाइला हो।”

खानेपानीका कारण वर्षौंसम्म समस्याको सामना गर्दै आएका जनताको पीडा अब अन्त्य हुने विश्वास व्यक्त गर्दै मन्त्री यादवले जनताको समस्यालाई सम्बोधन गर्न सरकारले खानेपानीका आयोजनालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको जानकारी दिनुभयो। “म स्वयं हिमाल, पहाड, तराईका विकट तथा ग्रामीण बस्तीहरूमा पुगेर नागरिकका समस्या बुझ्दै, समाधानको प्रयासमा जुटिरहेको छु” उहाँले थप उल्लेख गर्नुभयो।

सालकोट वृहत खानेपानी आयोजनाबाट करिब २ हजार ७७१ घरधुरी अर्थात १५ हजार भन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । पञ्चपुरी नगरपालिकाका ती बासिन्दा जो वर्षौंदेखि पानीकै समस्याले थलिएका थिए, अब तिनको घर आँगनमा स्वच्छ पानीको धार बग्ने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, सुर्खेतका निमित्त प्रमुख मनिषकुमार राजले बताउनुभयो ।

उहाँले असुरक्षित पानी पिउन बाध्य भएका कर्णालीका बासिन्दाका लागि यो खानेपानी आयोजना नमुना बन्ने दाबी गर्नुभयो । उहाँले सालकोट वृहत खानेपानी आयोजना क्षेत्रका बासिन्दाको सुरक्षित खानेपानीमा पहुँच अभिवृद्धि भएको समेत बताउनुभयो।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामुकुमार श्रेष्ठले जलवायु परिवर्तनका कारण सुख्खा मौसममा पानीको हाहाकार र वर्षामा बाढीले ल्याउने समस्याहरूको चर्चा गर्दै भन्नुभयो “यो आयोजना केवल पानी ल्याउने योजना होइन, यो पञ्चपुरीका लागि जीवन र आशाको नयाँ सुरुवात हो।” उहाँले सालकोट आयोजनाले पञ्चपुरीवासीको आगामी ३० वर्षसम्मको खानेपानीको आवश्यकतामा दीर्घकालीन समाधान ल्याउने दाबी गर्नुभयो।

आयोजनालाई सफल बनाउन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, सुर्खेतको नेतृत्वमा संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयास रहेको छ। स्वीकृत लागत रु २५ करोड ९१ लाख ८५ हजार ६५५ रुपैयाँ रहेको आयोजनाको निर्माण व्यवसायी ए.एम.प्याराडाइज जे.भी. ज्वागल, ललितपुरले भ्याट सहित १० करोड ३० लाख ७३ हजार ७३ रुपैयाँमा २०७८ साल असार ३१ गते ठेक्का सम्झौता गरेको थियो ।

कार्यक्रममा सालकोट वृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष डिल्लीराम निउरले सरकारलाई धन्यवाद दिँदै माग गर्नुभयो “यो सेवा अब अन्य वडामा पनि विस्तार होस्, ताकि पञ्चपुरीका हरेक बासिन्दाले पानीको अधिकार सहजै प्राप्त गर्न सकून्।”

समारोहमा संघीय सांसद हृदयराम थानी, पूर्वसांसद नवराज रावत, प्रदेश सांसद विन्दमान विष्ट, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, नगर प्रमुख लालविर भण्डारी, उपप्रमुख मुक्तिदेवी रेग्मी पुरी, प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय सहित स्थानीय जनप्रतिनिधि र नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।

सालकोट बृहत खानेपानी आयोजना अब केवल योजना होइन, पञ्चपुरीको पहिचान, समृद्धिको प्रतीक र स्वाभिमानको श्रोत बन्दैछ। जहाँ पहिले पानीका लागि पैदल हिड्नु पर्थ्यो, अब घरआँगनमै पानीको मुहान फूट्नेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार