फोहोरपानी प्रशोधन केन्द्रले जब स्वीडेनका वास विज्ञहरुको ध्यान तान्यो

  वास खबर सम्बाददाता  484 पटक हेरिएको

काठमाडौं : शहरका गल्ली गल्लीदेखि नदी किनारासम्म फैलिएको फोहोरपानीको कथा सुन्न स्वीडेनबाट नेपाल आएका सरसफाइ विज्ञहरूको एक टोली गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रमा पुग्यो । टोलीले फोहोरपानी प्रशोधन केन्द्रको स्थलगत अवलोकन गर्दै नेपालको शहरी सरसफाइ प्रणालीमा गहिरो चासो व्यक्त गर्‍यो ।

गम्भीर अनुहार, चासोले भरिएका आँखा र समय समयमा टिपोट लिँदै गरिएको यो भ्रमण केवल एउटा केन्द्रको भ्रमण मात्र थिएन, दुई फरक भूगोल बीचको सरसफाइ प्रतिको साझा चिन्तनको प्रतिविम्ब पनि थियो ।

टोलीले केन्द्रको सुरुवाती प्रवेश विन्दु, जहाँ शहरको माथिल्लो क्षेत्रबाट आएको ढल प्रवेश गर्छ । त्यहाँ देखि प्रशोधनको अन्तिम चरणसम्म, प्रत्येक संरचनाको अवलोकन गर्दै यसको कार्यपद्धतिबारे विस्तृत जानकारी हासिल गर्‍यो । प्रशोध केन्द्रका प्रोसेस इन्जिनियर प्रभात केसी तथा भा टेक वाबाग लिमिटेडका प्राविधिकहरूले टोलीलाई वैज्ञानिक, प्राविधिक र व्यवहारिक पक्षबाट सबै प्रक्रियाको सूक्ष्म विवरण प्रस्तुत गर्नुभयो।

भ्रमणको क्रममा विज्ञ टोलीका नेतृत्वकर्ता तथा भ्याकिनका प्रमुख कार्यकारी अधिकृत रोबर्ट हन्सनले सरसफाइ शुल्कको संरचना र प्रणालीको दिगो सञ्चालनबारे गहिरो जिज्ञासा व्यक्त गर्नुभयो। यो प्रश्नले नेपालको स्थानीय तहहरूमा वित्तीय स्थायित्व, सरसफाइ शुल्क संकलनको प्रभावकारिता र सेवा विस्तारका चुनौतीहरू तर्फ ध्यान खिच्यो।

भिडियोः

त्यसैगरी, भ्याकिनकी कम्युनिकेसन अफिसर एलिन ब्याकमनले ढल प्रणालीमा नजोडिएका घरधुरीहरूलाई कसरी सरसफाइ सेवा दिइँदैछ भन्ने विषयमा प्रश्न उठाउनुभयो। जवाफमा प्रोसेस इन्जिनियर केसीले ढल प्रणालीमा जडान नभएका घरधुरीबाट संकलित मलमूत्रलाई पनि यही प्रशोधन केन्द्रमा विसर्जन गर्ने गरिएको बताउनुभयो।

उहाँका अनुसार, यो केन्द्र मूलतः ढल प्रणालीबाट आउने फोहोरपानी प्रशोधन गर्न निर्माण गरिएको भए तापनि हालको अवस्थाले गर्दा ढल रहित प्रणालीबाट आउने मलमूत्र पनि यहीँ प्रशोधित गरिनु परेको हो। यसले एकातिर प्रविधिको लचिलोपन देखाउँछ भने अर्कोतर्फ नीति तथा संरचनागत सुधारको खाँचो पनि औल्याएको छ ।

इन्जिनियर केसीले थप जानकारी दिँदै हाल गोकर्ण तथा धोबीघाटमा ढल रहित प्रणालीबाट आउने मलमूत्रलाई व्यवस्थापन गर्न फोहोरपानी प्रशोधन केन्द्रसँगै दिसाजन्य लेदो प्रशोधन केन्द्रको संरचना पनि निर्माण भैरहेको जानकारी गराउनुभयो। यसले आगामी दिनमा सहरका सबै खालका फोहोरपानीका स्रोतहरूलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्ने आशा जगाउँछ।

गोदावरी प्रावल्य वास परियोजना प्रमुख आनन्द गौतम र वाटर एड, विकन परियोजना प्रमुख कविन्द्र पुडासैनीले कार्यक्रमलाई थप अन्तरक्रियात्मक बनाउनु भएको थियो ।

स्वीडेनका वास विज्ञहरुको यो भ्रमण केवल फोहोरपानी प्रशोधन केन्द्रको प्रक्रिया बुझ्ने प्रयोजनका लागि मात्र थिएन । यो त विचारको सेतु निर्माण गर्नु पनि थियो। जब फरक मुलुकका विज्ञहरू एउटै समस्यामाथि विचार आदान प्रदान गर्छनन्, तब त्यो सिर्जना बन्न पुग्छ । अनि साझा समाधानको सम्भावना पहिल्याउँछ ।

ललितपुरको गोदावरीमा विगत तीन बर्षदेखि सञ्चालन भैरहेको गोदावरी प्रावल्य वास परियोजनाको अनुगमन तथा मूल्याङ्कनको लागि स्वीडेन स्थित भ्याकिनका वास विज्ञहरु नेपाल आउनु भएको हो । टोलीले गोदावरी नगरपालिकामा सञ्चालित विभिन्न कार्यक्रमहरुको अनुमगन गरिनुका साथै नगरपालिकाका इन्जिनियर, जनप्रतिनिधी, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तथा फोहोरमैला व्यवस्थापनको क्षेत्रमा क्रियाशील संघसंस्था अन्तरक्रिया गरिरहेको छ ।

टोलीले बुधबार मात्र पागावन क्षेत्रको पनि अवलोकन गरेको छ । पागावनको यस अघिको सरसफाइको अवस्था र सुधारिएको सरसफाइको बिषयमा अध्ययन गर्ने उद्देश्यले टोलीले पागावन क्षेत्रको अवलोकन गरेको थियो। गत बर्ष पनि त्यहाँको फोहोरमैलाको अवस्थाका बिषयमा अवलोकन गरेको भाकिनको टोलीले हालको सुधारात्मक अवस्था देखेर खुसी व्यक्त गरेको छ ।

पागावन क्षेत्रको सरसफाइको अवस्थाबारे अध्ययन गरेपछि होटेल पूर्नाजमाविभिन्न तीन वटा प्राविधिक समूहमा विभाजन भै फरक फरक बिषयमा छलफल गरिएको थियो ।
पहिलो समूहमा मानव मलमूत्र प्रशोधन केन्द्रको (एफएसटीपी०को डिजाइन र लागत अनुमान सम्बन्धी विस्तृत छलफल गरिएको थियो। उक्त छलफलमा भाकिन टोलीले स्वीडेनमा अभ्यास गरिएको लाइफ साइकल लागत विधिबारे जानकारी गराएको थियो भने वाटरएड नेपालले सिरहाको लहान नगरपालिकामा चलिरहेको सिटीवाईड इन्क्लुसिभ स्यानिटेशनबारे जानकारी गराएको थियो । छलफलमा वाटरएड, परामर्शदाताको सुझावलाई समेत समावेश गरी एफएसटीपी डिजाइन र लागत अनुमानलाई अन्तिम रूप दिईएको थियो।

यस्तै दोस्रो समूहले गोदावरी प्रबल्य वास परियोजनाको खर्च विवरणको अवस्थाबारे छलफल गरिएको थियो । छलफलमा वाटर एड नेपाल र गोदावरी नगरपालिकाबाट पेश गर्नुपर्ने प्रतिवेदन सम्बन्धी आवश्यक दस्तावेजहरूका बिषयमा विस्तृतमा छलफल गरिएको थियो।

तेस्रो समूहमा भने गोदावरी नगरपालिकाको फोहरमैला व्यवस्थापन योजना÷निर्देशिकाको मस्यौदा तथा काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन प्रवृत्तिबारे डा. ढुण्डीराज पाठकले प्रस्तुतीकरण गर्नुभएको थियो । यस्तै भाकिनका पदाधिकारीहरुले गोदावरी नगरपालिकामा फोहरमैला व्यवस्थापन अन्तर्गत गर्न बाँकी रहेका गतिविधिहरूका बिषयमा छलफल गरिएको थियो।

फोहोरपानी प्रशोधन केन्द्र अवलोकनका थप फोटाहरुः

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार