
सुनसरी : बराहक्षेत्र नगरपालिका अन्तर्गत वडा नं. ४ र वडा नं. ५ मा वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (वडा वाससीसी) को बैठक सम्पन्न भएको छ। सम्बन्धित वडा कार्यालयको आयोजना तथा वडा अध्यक्षहरूको अध्यक्षतामा सम्पन्न बैठकमा सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा वडामा विद्यमान खानेपानी तथा सरसफाइका अवस्थाहरूको समिक्षा गरिनुका साथै आगामी दिनहरूमा वाशलाई अभियानका रूपमा कसरी अगाडि बढाउने भन्ने विषयमा विस्तृत छलफल गरिएको बराहक्षेत्र नगरपालिकाका वास इकाई संयोजक मोतिलाल चौधरीले जानकारी दिनुभयो ।
बैठकमा वडा अध्यक्षहरूले स्वच्छता तथा सरसफाइ जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकोले यसलाई प्राथमिकताको रूपमा लिनु आवश्यक रहेको उल्लेख गर्दै वडाको उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

वडास्तरमै बजेटको व्यवस्थापन गर्दै सरसफाइ तथा खानेपानीको अवस्थालाई सुधार गर्न अनुगमन तथा मूल्यांकन प्रणालीलाई समेत सुदृढ पारिने वास इकाई संयोजक चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा वाससीसीको अगुवाईमा टोलटोलमा सरसफाइ अभियान सञ्चालन गर्दै वडा सफा, स्वच्छ र सुन्दर बनाउने तथा वडाबासीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिने भएको छ ।
साझा उत्तरदायित्वको भावनाका साथ सम्पन्न उक्त बैठकले आगामी दिनमा वडा स्तरीय वास कार्यक्रमलाई अझ सशक्त रुपमा अगाडि बढाउने विश्वास लिएको छ।



349 पटक हेरिएको 

