सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता सुविधाले मात्र जनस्वास्थ्यको रक्षा सम्भव : डा. नेपाल

  वास खबर सम्बाददाता  1113 पटक हेरिएको

काठमाडौ : वाग्मती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता सुविधाले मात्र जनस्वास्थ्यको रक्षा हुने बताउनु भएको छ । विश्व स्वास्थ्य संगठन (WHO) को आर्थिक सहयोग र इको कन्सर्न प्रा.लि.को प्राविधिक सहयोगमा सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) ले आयोजना गरेको ‘स्वास्थ्य संस्थाहरूमा खानेपानी, सरसफाइ र स्वच्छता (WASH) सम्बन्धी स्थानीय पैरवी पहल’ (Water, Sanitation and Hygiene (WASH) in Health Care Facilities Local Advocacy Initiative, Nepal कार्यक्रममा डा. नेपालले झनै स्वास्थ्य संस्थाहरुमा खानेपानी, सरसफाइ र स्वच्छता सुविधा नभई नहुने बताउनुभयो।


उहाँले ग्रामीण भेगका स्वास्थ्य संस्थाहरुमा आधारभूत तहको खानेपानी सुविधा समेत उपलब्ध नहुँदा स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा प्रभावित भएको बताउनुभयो। खानेपानी, सरसफाइ र स्वच्छता सुविधा बिना स्वास्थ्य संस्थाहरुले गुणस्तरीय सेवा प्रदान गर्न नसक्ने भएकाले सबै स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता (वास) सुविधाको सुनिश्चितता गर्नुपर्ने उहाँले बताउनुभयो।

उहाँले जबसम्म फोहोरबाट उर्जा तथा फोहोरलाई राजश्व संकलनको क्षेत्र बनाउन सकिदैन, तबसम्म फोहोर व्यवस्थापनको काम सम्भव नहुने बताउनुभयो। ‘फोहोरको सही व्यवस्थापन नहुँदा धेरै स्वास्थ्य जोखिमहरु सिर्जना भएका छन्, संविधानतः फोहोर व्यवस्थापनको एकल अधिकार स्थानीय सरकारसँग भएकाले यसको व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो।


विकास साझेदारहरुको नक्साङ्कन गरिने

उपाध्यक्ष डा. नेपालले वाग्मती प्रदेश भित्र कार्यरत विकास साझेदारहरुको नक्साङ्कन गरिने बताउनुभयो । विकास साझेदारहरुको नक्साङ्कन नहुँदा कहाँ कुन संस्थाले कसरी, कुन क्षेत्रमा काम गरिरहेको छ भन्ने एकीन गर्न गाह्रो भएको बताउनुभयो । ‘हामी प्रदेशको बजेट निर्माणको क्रममा छौं, त्यस लगत्तै विकास साझेदारहरुको म्यापिङ गर्नेछौं’ उहाँले भननुभयो ‘त्यसपछि कुन कुन क्षेत्रमा कुन कुन संघसंस्था क्रियाशील छन् भन्ने थाहा हुनेछ । यसले सरकारको आवधिक योजनामा कसले कसरी सहयोग गर्न सकिन्छ भनेर कार्यक्षेत्र किटान गरिनेछ।’

दिगो विकास लक्ष्य ६ पूरा हुँदा लक्ष्य ३ प्राप्तिमा पनि सघाउ पुग्छ : डा. गाम्पो

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका सिनियर हेल्थ पोलिसी एडभाईजर डा. गाम्पो दोर्जीले स्वास्थ्य संस्थामा पानी, सरसफाइ र स्वच्छता (WASH) केवल पूर्वाधार मात्र नभई सर्वव्यापी स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि अत्यावश्यक रहेको र यो नेपालको संविधानमा उल्लेखित स्वास्थ्य अधिकारसँग प्रत्यक्ष सम्बन्धित रहेको कुरा उल्लेख गर्नुभयो।

उहाँले WASH को संक्रमण रोकथाम तथा नियन्त्रण (IPC), एण्टीमाइक्रोबियल प्रतिरोध (AMR) र अन्य धेरै स्वास्थ्य सम्बन्धी विषयहरूसँग प्रत्यक्ष सम्बन्ध रहेको बताउनुभयो।


उहाँले दिगो विकास लक्ष्य (SDG 6) अन्तर्गतका लक्ष्य ६.१ र ६.२ पूरा हुँदा दिगो विकास लक्ष्य ३ (SDG 3) अन्तर्गतका लक्ष्य ३.८ र ३.९ को प्राप्तिमा समेत सघाउ पुग्ने बताउनुभयो । खानेपानी र सरसफाइ मात्र यस्तो बिषय हो, जसको प्राप्तिबाट दिगो विकास लक्ष्य अन्तर्गतका अन्य धेरै लक्ष्यहरु हासिल गर्न सघाउ पुग्छ उहाँले भन्नुभयो।

डा. गाम्पोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MoHP) मार्फत स्वास्थ्य संस्थामा WASH प्रणाली सुदृढीकरण तथा स्वास्थ्य सेवा फोहोर व्यवस्थापन (HCWM) मा नेपाल सरकारलाई दिइएको सहयोगबारे पनि चर्चा गर्नुभयो। साथै, आउँदो दिनहरूमा पनि सरकारलाई प्राविधिक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाकी उपमेयर बसन्ती श्रेष्ठले नगरपालिका क्षेत्रभित्रका नागरिकको फोहोर व्यवस्थापन गर्न समेत धौ धौ भैरहेको बताउनुभयो । उहाँले चन्द्रागिरी नगरपालिका भित्रको १५ वटै वडाको फोहोर व्यवस्थापनमा निजी क्षेत्र परिचालन गरिएको र स्वास्थ्यसंस्थाजन्य फोहोरलाई छुट्टै तरिकाले व्यवस्थापन गर्न नसकिएको बताउनुभयो ।


यस्तै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले काठमाडौलाई सही हुने नीति तर्जुमा हुँदा गाउँबस्तीलाई समेट्न नसकेको बताउनुभयो । उहाँले सरसफाइको चेतना स्तर न्यून भएको ठाउँमा झनै फोहोर व्यवस्थापनको काम पेचिलो बन्दै गएको बताउनुभयो ।

उहाँले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) को सहयोगबाट स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता सुविधामा परिवर्तन आउने र यसले गर्दा स्वास्थ्य संस्थाले गुणस्तरीय सवा प्रदान गर्न सक्ने बताउनुभयो।

अब स्वास्थ्य संस्थामा वासका सुविधाहरु बढाउनुपर्छ : अध्यक्ष अधिकारी

सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स नेपाल (सोफेन) का अध्यक्ष शरद अधिकारीले समुदाय तथा विद्यालयको तुलनामा स्वास्थ्य संस्थाहरुमा खानेपानी, सरसफाइ र स्वच्छता सुविधाहरु पर्याप्त नभएको औल्याउँदै अब बढाउनु पर्नेमा जोड दिनुभयो।

उहाँले स्वास्थ्य संस्थाहरुको विश्वव्यापी वासको आंकडा प्रस्तुत गर्दै नेपालको स्वास्थ्य संस्थाहरुमा पनि खानेपानी, सरसफाइ र स्वच्छता सुविधा नपुगेकाले यसलाई बढावा दिनुको विकल्प नभएको बताउनुभयो।


‘विश्वव्यापी रुपमा हेर्दा २० प्रतिशत स्वास्थ्य संस्थाहरुमा पर्याप्त पानीको सुविधा छैन, २५ प्रतिशत स्वास्थ्य संस्थाहरुमा सरसफाइको अभाव छ भने ५० प्रतिशत स्वास्थ्य संस्थाहरुमा हातको स्वच्छता सुविधा नरहेको स्थिति छ । नेपालका स्वास्थ्य संस्थाहरुमा पनि यो स्थिति भन्दा फरक छैन’ उहाँले भन्नुभयो।

अध्यक्ष अधिकारीले स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी पैरवी भएको १५/१७ बर्ष वितिसकेको भए पनि यो क्षेत्र अझै वास सुविधाहरुबाट पछाडि नै रहेको बताउनुभयो । ‘सन् १९८० को दशकमा समुदायमा खानेपानी र सरसफाइ अभियान सुरु भयो, त्यसपछि विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सुविधा चाहिन्छ भनेर लाग्यौं, तर १५ बर्ष अघि देखि चलेको अभियानले स्वास्थ्य संस्थामा वास सुविधा पुगेको होला भन्ने सोचेको थिएँ, तर होइन रहेछ’ उहाँले भन्नुभयो।

कार्यक्रममा काठमाडौको चन्द्रागिरी नगरपालिका र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका जनप्रतिनिधी, सम्बन्धित गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विकास साझेदारहरु WHO, GIZ, UNICEF, DH, HECAF, Wine to Water लगायत संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति थियो ।


कार्यशालामा नेपालको खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी प्रमुख मापदण्ड, ऐन, नीति र नियमावलीहरुका बिषयमा वरिष्ठ जनस्वास्थ्य निरीक्षक उपेन्द्र ढुंगानाले प्रस्तुतीकरण गर्नुभयो।यस्तै स्वास्थ्यसंस्थाजन्य फोहोर व्यवस्थापन मापदण्ड तथा सञ्चालन कार्यविधि, २०७७” बारे सोफेनका सदस्य एवं एको कन्सर्न प्रा.लि.का कार्यकारी निर्देशक चारुश्री नकर्मीले प्रस्तुतीकरण गर्नुभयो।


यस्तै स्वास्थ्य संस्थाहरूमा पानी, सरसफाइ तथा स्वच्छता (WASH) को वर्तमान विश्वव्यापी तथा राष्ट्रिय अवस्थाका बिषयमा विश्व स्वास्थ्य संगठनका डा. सुदनराज पन्थी, र सोफेनका अध्यक्ष शरद अधिकारीले प्रस्तुतीकरण गर्नुभयो। कार्यक्रममा दुवै स्थानीय तहहरुले आ–आफ्नो स्थानीय तहभित्रका नगरपालिकाको स्वास्थ्य संस्थाहरूमा रहेको पानी, सरसफाइ तथा स्वच्छताको वर्तमान अवस्थाका बिषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यशाला भोलि पनि सञ्चालन हुनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार