
नेपाल विविध भूगोल र जलवायुले सम्पन्न देश हो। हिमाल, पहाड र तराईको यो सुन्दर भूमिमा कतै असिना र वर्षाको प्रचुरता छ भने कतै वर्षातको थोपा पनि स्वर्णसमान हुने परिस्थिति रहेको छ। विशेषतः देशका पश्चिम तथा दक्षिण-पश्चिम भू-भागहरू, जहाँ बर्षात अत्यन्त कम हुने गर्छ, त्यहाँ वर्षातको पानीको एकएक थोपा पनि अनमोल हुन्छ। यस्तो अवस्थामा आकाशेपानी संकलन अर्थात् वर्षा हुँदा छत, आँगन वा जमिनमा खस्ने पानीलाई सङ्कलन गरी त्यसलाई भविष्यका लागि प्रयोग गर्न सकिने बनाउनु एक बरदान समान उपाय बन्न पुगेको छ।
वर्षातको पानी प्रकृतिको अनुपम वरदान हो। यो शुद्ध र निःशुल्क रुपमा प्राप्त हुने स्रोत हो जसलाई सही तरिकाले संकलन गर्न सकिएमा विभिन्न प्रयोजनमा उपयोग गर्न सकिन्छ। विशेष गरी पानीको चरम अभाव झेलिरहेका सुख्खा क्षेत्रमा, जहाँ खेतीपाती सिँचाइ अभावमा सुक्दै जान्छन् र बासिन्दाहरू बिहानदेखि बेलुकासम्म पानी खोज्दै हिंड्न बाध्य छन्, त्यहाँ वर्षातको पानी संकलन एक प्रभावकारी र व्यावहारिक विकल्प बन्न सक्दछ।
पारम्परिक ज्ञान र आधुनिक अभ्यासको संयोजन
नेपालका कतिपय गाउँघरहरूमा वर्षा पानी संकलनको चलन पुराना समयदेखि नै रहिआएको पाइन्छ। छानाबाट बग्ने पानीलाई ठुला भाँडाहरूमा जम्मा गरेर गृहकार्य, पशुपालन, सिँचाइ आदि प्रयोजनका लागि प्रयोग गर्ने चलन अझै कतै कतै जीवित छ। अहिले आएर यस परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्दै अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रयास भइरहेको छ।
सिमेन्टका ट्यांकी, प्लास्टिकका ड्रमहरू, र इनार-जस्ता संरचनाहरू मार्फत वर्षा पानी संकलन र भण्डारण सम्भव छ। यसरी सङ्कलन गरिएको पानीलाई प्राथमिक शुद्धिकरण गरी खानेपानीको रूपमा पनि प्रयोग गर्न सकिन्छ। यसका लागि फिल्ट्रेसन सिस्टम, बालुवा–ढुंगा प्रयोग गरिएको फिल्टर र सौर्य डिसइन्फेक्सन (SODIS) प्रविधिहरू प्रयोग गर्न सकिन्छ।
सुख्खा क्षेत्रको लागि सम्भावना र प्रभाव
जहाँ पानीको मुहान टाढा छ वा पानीको स्रोत भन्दा उच्च स्थानमा मानिसको बसोबास छ, त्यस्ता जिल्लाहरूमा वर्षातको पानी संकलन प्रणाली विस्तार गर्न सकिएको खण्डमा त्यहाँको पानीको चरम अभावमा राहत मिल्नेछ। विद्यालयहरूमा पानीको अभावले विद्यार्थीहरू कष्टमा पर्नु, महिला तथा बालबालिकाहरूलाई पानी भर्न घण्टौं टाढासम्म हिंड्नुपर्ने अवस्था, खेती सुक्खा हुनाले आम्दानीमा कमी आउने अवस्था यी सबै समस्या क्रमशः समाधानतर्फ उन्मुख हुन सक्छन्।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका अनुसार, विश्वभर करिब ७० करोड मानिसहरू पानीको चरम अभावमा छन्। नेपालमा पनि १५ लाखभन्दा बढी मानिस वर्षैभर सुरक्षित पानीको पहुँचबाहिर छन्। यस्तो अवस्थामा वर्षा पानी संकलन एउटा दीगो र सुलभ समाधान हो भन्नेमा दुईमत छैन।
नीतिगत सहारा र समुदायको सक्रियता आवश्यक
यस क्षेत्रमा स्थायी र व्यावहारिक समाधान ल्याउन स्थानीय सरकार र संघीय सरकारको स्पष्ट नीति र कार्यक्रम आवश्यक छ। विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन लगायतका सार्वजनिक संरचनाहरूमा वर्षा पानी संकलन प्रणाली अनिवार्य बनाउने नीतिगत व्यवस्था जरुरी छ। साथै, निजी घरधुरीमा पनि यसको प्रवर्द्धन गरी आर्थिक अनुदान वा प्राविधिक सहायता प्रदान गरिनु उपयुक्त हुनेछ।
यद्यपि, नीति मात्र पर्याप्त हुँदैन। समुदाय स्वयं जागरूक भई, आफ्नै प्रयासमा पानी संकलन गर्ने मानसिकता विकास गर्नु आवश्यक छ। समुदायमा सचेतना कार्यक्रम, तालिम, सफल अभ्यासको आदानप्रदान र प्राविधिक सहायता प्रदान गरिँदा दीर्घकालीन असर देखिनेछ।
वर्षातको पानी, जुन पहिले बगेर जाने अनावश्यक स्रोत मानिन्थ्यो, आजको सन्दर्भमा जीवनदायी अमृत बन्न पुगेको छ। विशेषतः पानीको हाहाकार व्याप्त रहेका सुख्खा क्षेत्रका लागि यो बरदान नै हो। समयमै सचेत भई, नीति, प्रविधि र सामुदायिक सहभागिताको समन्वयमार्फत वर्षा पानी संकलनको अभ्यासलाई विस्तार गर्न सकियो भने यो हाम्रो भविष्यको सुरक्षा कवच बन्न सक्नेछ।


362 पटक हेरिएको 

