हेटौंडा : हेटौंडा उपमहानगरपालिका, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहलगानीमा हेटौंडामा २० करोड रुपैयाँ भन्दा बढी लागतमा खानेपानी योजना निर्माण हुने भएको छ ।
उपमहानगरापलिकाको वडा नं.९,११, १४ र १५ लाई लक्षित गर्दै सिमलटार–रातोमाटे सहलगानी खानेपानी योजना सञ्चालन हुने भएको हो । शुक्रबार हेटौंडा उपमहानगरपालिका, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र निर्माण व्यवसायी बीच निर्माण कार्यको सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
संघीय सरकारबाट २०७९ सालमा ८२ करोड बराबरको डि.पि.आर. तयार भएतापनि नेपाल सरकारबाट विगतमा आयोजना संचालनको लागि स्रोत सुनिश्चता हुन सकेको थिएन । चालू आर्थिक बर्ष २०८१/०८२ मा रु. २५ करोड बरावरको स्रोत सुनिश्चित भई संघीय सरकारबाट बोलपत्र आव्हान भएको ठेक्कामा निर्माण व्यवसायीले २० करोड ५६ लाख रुपैयाँमा २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने सम्झौता भएको छ ।

उपमहानगरपालिका कार्यालयमा भएको सम्झौता पत्रमा नगर प्रमुख मीनाकुमारी लामा, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख पुर्णप्रसाद उपाध्याय, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट र निर्माण व्यवसाय जयमाता सुप्रीम जेभीका तर्फबाट कृष्णहरी चौलागाईले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार उपमहानगर र खानेपानी व्यवस्थापन बोर्डको ३० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत लगानी रहनेछ ।
२० करोड ५६ लाखाको सहलगानीमा हेटौंडा–९ को बेदखोल्सिमा ६ लाख लिटर, हेटौंडा–१५ पिसपार्कमा २ लाख लिटर र हेटौंडा–१४ उतरपानीमा २ लाख लिटरको खानेपानी टंकी निर्माण गरीने छ भने हेटौंडा–१४ मै २ वटा डिप ट्यूवेल, १० किलो मिटर मेन तथा शाखा पाईप लाइन विस्तार, विधुतिकरण लगायत अन्य पूर्वाधार निर्माण कार्य गर्ने सम्झौतामा उल्लेख छ।
आयोजना प्रमुख उपाध्यका अनुसार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले वि.सं. २०२२ साल देखि प्रयोगमा ल्याएको बुनदल मुहानको स्तरोन्नति एवम् पाइप लाइन सुधार विस्तारको कार्य समेत यही योजनामा समाबेश भएको छ।
योजना सम्झौतामा नगर प्रमुख लामाले निर्माणको कामलाई गुणस्तरीय बनाउँदै नगरवासीलाई चाडै खानेपानीको व्यवस्थापन मिलाउने कामम लाग्न निर्माण पक्षलाई सुझाब दिनुभयो। योजना निर्माण हुने क्षेत्र मध्ये दुई वटा वडा १४ र १५ पछि उपमहानगरापालिकामा समाबेश भएको क्षेत्र भएकाले त्यहाँका जनतालाई खानेपानीको सुबिधा दिने काममा उपमहानगर पछि नपर्ने गरी काममा लाग्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो ‘तोकिएको समयमा कामलाई सम्पन्न गर्ने गरी लाग्न जरुरी छ।’

सम्झौतामा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, खानेपानी बोर्डका सदस्य डा.कृष्णप्रसाद धिताल, कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा, संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर प्रदिप यादब, लेखा अधिकृत कपिल अर्याल, प्रबिधिक अदिप चौलागाई, बोर्डका लेखा प्रमुख सञ्जय कुमार न्यौंपाने लगायत अन्य प्रतिनिधीको उपस्थिती रहेको थियो ।



507 पटक हेरिएको 

