मेलम्ची बन्द भए पनि रिबर्मा खोलाको पानी आपूर्ति गरिनेछ : खानेपानीमन्त्री यादव

  वास खबर सम्बाददाता  532 पटक हेरिएको


काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले बर्षायाममा मेलम्चीको पानी बन्द भएपनि राजधानीमा खानेपानीको आपूर्ति भने नरोकिने बताउनु भएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको सहकार्यमा खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आयोजना गरेको ‘काठमाडौ उपत्यका भित्रका खानेपानी उपभोक्ता समितिहरु बीचको अन्तरक्रिया कार्यक्रम’ मा मन्त्री यादवले काठमाडौमा खानेपानीको हाहाकार हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।


‘मेलम्चीको पानी बन्द गरेपनि पानी आउने बाटो बन्द हुने छैन, मेलम्चीकै पानी आउने पाइपबाट हामी रिबर्मा खोलाको पानी पठाउने तयारी गरिरहेका छौं’ मन्त्री यादवले भन्नुभयो । उहाँले रिबर्मा खोलाको पानी मेलम्चीकै संयन्त्रबाट पठाउने कामको लागि करिब ९५ प्रतिशत काम सम्पन्न भैसकेको र बाँकी काम पनि हप्ता दिनभित्रै सम्पन्न गरिने बताउनुभयो।

यस्तै ललितपुरका लागि सिस्नेरी खोलाको पानी ल्याउन पनि सम्भाव्यता अध्ययन भैरहेको उहाँले बताउनुभयो। सिस्नेरी खोलाको पानीले ललितपुरबासीलाई खानेपानी आपूर्ति गर्न सके ललितपुरका लागि वितरण भैरहेको मेलम्चीको पानी काठमाडौ र भक्तपुरमा वितरण गरिने उहाँले बताउनुभयो।


काठमाडौ उपत्यकाको २५ वटा भन्दा बढी खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा मन्त्री यादवले खानेपानी उपभोक्ता संस्थाहरु नै खानेपानी आपूर्तिका मुख्य हिरोहरु भएको बताउनुभयो । उहाँले खानेपानी उपभोक्ता संस्थाहरु बिना खानेपानी आपूर्तिको काम असम्भव भएको समेत बताउनुभयो ।

‘हिमाल, पहाड, तराई जहाँ पनि खानेपानी उपभोक्ता संस्थाहरु बिना खानेपानी आपूर्तिको काम सम्भव नै छैन’ उहाँले भन्नुभयो ।

उहाँले खानेपानी उपभोक्ता संस्था र खानेपानी मन्त्रालयको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने बताउनुभयो। कतिपय खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुले धारा जडानमा चर्को शुल्क लगाउँदा खानेपानीमा पहुँच पुग्न नसकेको भन्दै मन्त्री यादवले कसरी हुन्छ सबै वर्गलाई खानेपानीको समान पहुँच स्थापित गर्न खानेपानी उपभोक्ता संस्थाहरुलाई आग्रह गर्नुभयो।

‘मन्त्रालयले उपभोक्ता संस्थाहरुका लागि के गर्नुपर्छ भन्नुहोस् मन्त्रालय गर्न तयार छ, तर मन्त्रालयको कुरा पनि सुनिदिनुपर्‍यो । मन्त्रालय र उपभोक्ता समिति मिलेर मात्र सबैलाई खानेपानीको पहुँच पुर्‍याउन सफल हुन्छौं’ उहाँले जोड दिदै भन्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार