
काठमाडौ : खानेपानीमा कर छुट, विद्युत महसुलमा सहुलियत, किफायती कर्जाको व्यवस्था र स्वदेशमै ब्लिचिङ पाउडर उत्पादन गर्न राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पारित भएको छ। राष्ट्रिय साना शहर खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको अनुरोधमा गत जेड ६ गते राष्ट्रिय सभामा खानेपानी तथा सरसफाइ सम्बन्धी संकल्प प्रस्ताव दर्ता भएको थियो।
राष्ट्रिय सभाका सांसद जग प्रसाद शर्माको प्रस्तावमा राष्ट्रिय सभामा पेश भएको संकल्प प्रस्तावमा सांसद कृष्ण बहादुर रोकाय, सांसद गोपी बहादुर अछामी सार्की, सांसद भवगती न्यौपाने, सांसद मदन कुमारी शाह (गरिमा) र सांसद मोहम्मद खालिदले समर्थन सहित आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । प्रस्तुत सकल्प प्रस्तावमा अन्य सांसदहरुले समेत आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
खानेपानीको क्षेत्रमा सम्भवत पहिलो पटक प्रस्तुत भएको सकल्प प्रस्तावको सबै सांसदहरुले खुलेर समर्थन गर्दै यो संकल्प प्रस्ताव जति सक्दो छिटो कार्यान्वयन हुँदा खानेपानी क्षेत्र र उपभोक्तालाई मात्र नभई राज्यलाई नै प्रत्यक्ष फाईदा पुग्ने हुँदा छिटो कार्यान्वयनको लागि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नेपाल सरकारलाई कार्यान्वयनका लागि निर्देशन दिनु भएको छ।
सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, खानेपानीमन्त्री प्रदिप यादव लगायतको उपस्थिति थियो। प्रस्तुत संकल्प प्रस्ताव र सांसदहरुले खानेपानीको क्षेत्रमा उठाउनु भएको जिज्ञासा उपर जवाफ दिंदै खानेपानीमन्त्री यादवले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो। राष्ट्रिय सभामा प्रस्तुत भएको खानेपानीको संकल्प प्रस्ताव समयसापेक्ष र यथार्थपरक भएकोले जति सक्दो छिटो कार्यान्वयनमा ल्याउन आफुले प्रयास गरिरहेको र आगामी दिनमा पनि गर्दै जाने मन्त्री यादवले वचनबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभाले पास गरेको संकल्प प्रस्तावले सबै नागरिकलाई सुरक्षित, गुणस्तरिय तथा आधारभुत खानेपानी सेवामा सहज पहुंच सुनिश्चित गराई जनताको संवैधानिक आधिकारलाई कार्यान्वयन गर्न ठोस कदम अगाडि बढ्नेमा महासंघले विश्वास व्यक्त गरेको छ । ‘हामीलाई विश्वास छ पास भएको खानेपानी संकल्प प्रस्ताव छिट्टै कार्यान्वयन भई सरकारको लगानी जनताको पानी भन्ने नारा सार्थक भई जनताले स्वच्छ र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउनेछन्’ महासंघद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्तावका प्रमुख बुँदाहरु :
√ खानेपानी आयोजना सञ्चालन गर्ने उपभोक्ता समिति वा संस्थालाई राजश्व, आयकर, भ्याट लगायत सम्पूर्ण कर छुट हुनुपर्ने ।
√ खानेपानी सेवामा जडित विद्युतमा डिमाण्ड शुल्कका साथै विद्युत महसुलमा छुट हुनुपर्ने ।
√ नगर विकास कोषले प्रदान गर्ने ऋणको व्याजदर कम हुनुपर्ने ।
√ जनसहभागितालाई राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति २०८० अनुसार लागू हुनुपर्ने ।
√ सबै नेपालीलाई सुरक्षित खानेपानी उपलब्ध गराउन स्वदेशमै ब्लिचिङ पाउडर उद्योग स्थापना र सञ्चालन हुनुपर्ने ।


594 पटक हेरिएको 

