
भोजपुर : भोजपुर नगरपालिका–४ दावामा सञ्चालित ‘दावा बजार खानेपानी आयोजना’ सञ्चालनमा आएपछि स्थानीयवासीको जीवनमा निकै सहजता आएको छ। वर्षौँदेखि खानेपानीको अभाव झेल्दै आउनु भएका यहाँका बासिन्दालाई अहिले घरघरमा धारा जडान भएपछि सहज र नियमित रूपमा पानी उपलब्ध भएको छ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको नेतृत्वमा निर्माण सम्पन्न गरिएको यस आयोजना मार्फत ५० घरधुरीमा ‘एक घर, एक धारा’ सुविधा पुर्याइएको हो। आयोजनाको निर्माण सम्पन्नसँगै पानीको हाहाकार रहेको दावामा दीर्घकालीन समाधानको मार्ग खुलेको छ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल प्रधानले आयोजना सञ्चालनमा आएसँगै पानीको समस्या हटेको जानकारी दिनुभयो। “दावा खानेपानी आयोजना सञ्चालनमा आइसकेको छ,” उहाँले भन्नुभयो, “यस आयोजनाबाट हामी ५० घरमा पानी जडान गर्न सफल भएका छौँ। अहिले यहाँ पानीको अभाव छैन।”
उहाँका अनुसार आयोजनाको निर्माण सम्पन्न भएपछि प्रत्येक घरमा धारा जडान गरेर नियमित रूपमा पानी वितरण भइरहेको छ। यसले गर्दा स्थानीयवासीको दैनन्दिन जीवनमा उल्लेखनीय सहजता आएको उहाँको भनाइ छ।
यसैबीच, भोजपुरस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख आशुतोष ठाकुरले पनि आयोजना सफलतापूर्वक सम्पन्न भएको पुष्टि गर्नुभयो। उहाँले भन्नुभयो, “दावा बजार खानेपानी आयोजना सञ्चालनमा आइसकेको छ। आयोजनाको सञ्चालनसँगै यहाँका स्थानीय नागरिकको वर्षौँदेखिको पानीको समस्या अन्त्य भएको छ।”
उहाँका अनुसार करिब ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको यस आयोजना अन्तर्गत ४ किलोमिटर मुख्य पाइपलाइन र ४.५ किलोमिटर वितरण पाइपलाइन विस्तार गरिएको हो। कार्यालयको प्राविधिक टोलीले आयोजनाको स्थलमा पुगेर स्थलगत अनुगमन समेत गरिसकेको जानकारी उहाँले दिनुभयो।
प्रमुख ठाकुरले जिल्लाका अन्य क्षेत्रहरूमा समेत खानेपानीका यस्तै आयोजना धमाधम निर्माण भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “पानीको समस्या समाधानका लागि जिल्लाभरि विभिन्न खानेपानी आयोजना निर्माण कार्य तीव्र गतिमा अघि बढाइएका छन्।”
दावा बजार खानेपानी आयोजना सञ्चालनमा आएसँगै यहाँका स्थानीयवासीले लामो समयदेखि झेल्दै आउनु परेको कष्टपूर्ण अवस्थाबाट मुक्ति पाउनुभएको छ। स्थानीयवासी लक्ष्मी भण्डारीले आयोजनापछि आएको परिवर्तनको अनुभव यसरी सुनाउनुभयो : “दावा क्षेत्रमा पानीको धेरै नै समस्या थियो। हामीलाई पानी जोहो गर्न घण्टौँसम्म लाइनमा बस्नुपर्थ्यो। आधा रातदेखि उठेर टाढाको कुवा वा धारा जानुपर्ने बाध्यता थियो।”
उहाँले थप भन्नुभयो, “अहिले घरघरमा धारा जडान भएपछि हाम्रो पुस्तौँदेखिको समस्या हटेको छ। यसले हाम्रो घरायसी जीवनमा ठूलो सहजता ल्याएको छ। सरसफाइदेखि लिएर दैनिक कामकाजमा समेत अब कुनै समस्या छैन।”


340 पटक हेरिएको 

