
काठमाडौ : नेपालमा हैजा निवारणका लागि खानेपानी मन्त्रालयले सक्रियता देखाउन थालेको छ । मन्त्रालयले विभिन्न अन्तर निकायहरु सँगको सहकार्य र समन्वयमा सुरक्षित पानी र सरसफाइलाई प्राथमिकता दिदै आईरहेको छ।
खानेपानी मन्त्रालयका निमित्त सचिव ईञ्जिनियर मीन श्रेष्ठले नेपालमा हैजा निवारणको लक्ष्य हासिल गर्न खानेपानी मन्त्रालयले सुरुदेखि नै विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य र समन्वय गर्दै आएको बताउनु भएको छ ।
मन्त्रालयले आयोजना गरेको ‘राष्ट्रिय हैजा निवारण योजना’ सम्बन्धी सरोकारवाला छलफल कार्यक्रम’ मा उहाँले हैजा फैलनुमा असुरक्षित र अस्वस्थकर खानेपानी, कमजोर सरसफाइ तथा स्वच्छताको भूमिका रहेको उल्लेख गर्दै हैजा निवारणका लागि यी क्षेत्रको सुदृढीकरण अनिवार्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वच्छ र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता हैजा उन्मूलनको आधारशिला हुन् । यसलाई राष्ट्रिय प्राथमिकताका रूपमा लिनु जरुरी छ ।” यसैगरी उहाँले नेपालमा हैजा नियन्त्रण र उन्मूलनका लागि साझा प्रयास, नीतिगत सुधार, बजेटको सुनिश्चितता र जनचेतनामूलक अभियानको आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “खानेपानी मन्त्रालयले निकट भविष्यमा हैजा प्रभावित क्षेत्रहरूमा आकस्मिक प्रतिक्रिया प्रणाली, सुरक्षित पानी आपूर्ति, तथा स्वच्छताका कार्यक्रमहरू थप प्रभावकारी बनाउने योजना बनाएको जनाएको छ ।”
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले सरकारले सन् २०३० सम्म नेपाललाई हैजा मुक्त राष्ट्र बनाउने लक्ष्य लिएको र यसका लागि आवश्यक पूर्वाधार विकास, सूचनाको पहुँच, र जनस्तरसम्मको सेवा प्रवाह सुनिश्चित गर्नु प्रमुख चुनौती र अवसरका रूपमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हैजा प्रसारणको प्रमुख घटकको रुपमा असुरक्षित तथा अस्वस्थकर खानेपानी, सरसफाइ तथा स्वच्छता भएको हुनाले स्वच्छ र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकास, हैजा उन्मूलनको आधारशिलाको रुपमा लिनु पर्ने हुन्छ ।”
कार्यक्रमका सहभागी तथा मन्त्रालयका सिडिई योगेन्द्र चित्रकारले नेपाल सरकारले सङ्क्रामक रोगहरूको सूचीको सातौँ क्रम सङ्ख्यामा हैजा रोग पनि समावेश गरिएको र पानीजन्य सर्ने रोग भएको कारण संघीय राज्य प्रणालीमा नेपालमा स्वच्छ र सुरक्षित खानेपानी, यसको गुणस्तर कायम गर्न एवं ढल व्यवस्थापन गर्न खानेपानी मन्त्रालयको अहम भूमिका रहेको बताउनुभयो ।

उहाँले सुरक्षित पानीको उपलब्धता र सुरक्षित सरसफाइको व्यवस्थापनले दिगो विकास लक्ष्य अन्तर्गतको लक्ष्य ३ र ६ प्राप्त गर्नलाई समेत सहयोग गर्ने बताउनुभयो ।
उहाँका अनुसार यस योजना दुई चरणमा बाँधिएको छ पहिलो चरणमा रोकथाम रहनेछ भने दोस्रो चरणमा निवारणमा केन्द्रीत रहनेछ । पहिलोपटक नेपालमा बहुक्षेत्रीय हस्तक्षेपका लागि प्राथमिकता क्षेत्रहरू (पामी) अति जोखिम २२ जिल्लाहरूको वर्गीकरणको अवधारणा लागु गरी यो योजना तयार गरिएको छ, जुन जिल्लाहरुमा नेपालको कुल जनसङ्ख्याको ४८ प्रतिसत जनसङ्ख्याको वसोवास छ ।

हैजाको विश्वभरिको महामारीको अवस्था नेपालमा १८ औँ शताब्दीदेखि यसको निरन्तर प्रकोप लगायतको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिबद्धता अनुरुप राष्ट्रिय हैजा निवारण योजना तयार गर्दा विभिन्न विज्ञहरूको, सरोकारवालाहरुको राय सल्लाह, विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व सुनिश्चित गरिएको, विकास साझेदार, खानेपानी तथा सरसफाई क्षेत्रका सरकारी एवं गैरसरकारीसँग सहयोग र समन्वय गरी तयार पारिएको कार्यक्रमका सहभागीहरुले बताउनु भएको थियो ।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।



402 पटक हेरिएको 

