दैलेख : दैलेखमा यौन तथा प्रजनन् स्वास्थ्य र बाल अधिकारका सवालमा गरिएको अन्तरक्रियाका सहभागीले छाउपडी प्रथा अन्त्यका लागि विद्यालयको पाठ्यक्रममा छाउपडी विषयलाई समावेश गर्न जोड दिएका छन् । शुक्रबार दैलेख सदरमुकाममा केड सुर्खेतको सहयोग तथा महिला शसक्तिकरण मञ्च दैलेखले गरेको कार्यक्रममा दैलेखका सञ्चारकर्मीले छाउपडीको विषयलाई पाठ्यक्रममै समावेश गरेर पठनपाठन गर्न सकेमा मात्र छाउपडी प्रथा हट्दै जाने बताए ।
छाउपडीको विषयलाई आधारभुत तह देखि नै पाठ्यक्रममा समावेश गरेर सुरुको महिनावारी हुनु अघि नै किशोरीहरुलाई जानकारी दिन सकेमा छाउपडी हट्दै जाने दैलेखका पत्रकार भक्त शाहीले बताउनुभयो ।
पुराना रुढीवादी परम्पराका कारण छाउपडी प्रथा मानिदै आएकोले अबका किशोर किशोरीहरुलाई आधारभुत तह देखिनै छाउपडीको विषयमा ज्ञान दिन छाउपडी सम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्न सके मात्रै यो प्रथा अन्त्य गर्न सजिलो हुने पत्रकार कमल शर्माले बताउनुभयो ।
आङ खस्ने महिला बढ्दो
केड सुर्खेतको कार्यक्षेत्रमा आर्थिक बर्ष २०७१/०७२ मा ३७ हजार महिलाहरुमा गरिएको परिक्षणमा २२ प्रतिशत महिलाहरुको आङ खसेको पाइएको छ । यस्तै आर्थिक बर्ष २०७२/०७३ मा १४ हजार ८ सय महिलाहरुमा गरिएको परिक्षणमा २५ प्रतिशत महिलाहरुको आङ खसेको पाइएको केड सुर्खेतका कार्यक्रम संयोजक सीता अर्यालले जानकारी दिनुभयो । यो तथ्यांकले नेपालमा महिलाको पाठेघर आङ खस्ने समस्या बढ्दै गएको देखाउँछ ।
कार्यक्रम संयोजक सीता अर्यालका अनुसार केड नेपालले दैलेखका ७ वटा वडामा बालअधिकार र पाठेघर खस्ने समस्याका विषयमा काम गर्दै आएको छ ।
कार्यक्रममा महिला शसक्तिकरण मञ्च दैलेखकी अध्यक्ष सुनिता चन्दले समाजमा रहेका कुरीति र कुसंस्कारलाई न्यूनिकरण गर्न सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।


777 पटक हेरिएको 

