सुरक्षित सरसफाइका लागि कानुनी औजारको उपादेयता

  वास खबर सम्बाददाता  370 पटक हेरिएको

मानव मलमूत्र व्यवस्थापन (Feacal Sludge Management) स्वास्थ्य, वातावरणीय संरक्षण र सामाजिक मर्यादासँग प्रत्यक्ष सम्बन्धित विषय हो। असुरक्षित तरिकाले मलमूत्र फ्याँक्दा पानीको स्रोत प्रदूषित हुने, रोग फैलिने, वातावरणीय सन्तुलन बिग्रिने र मानव अधिकार समेत प्रभावित हुने खतरा हुन्छ। यस्ता चुनौतीलाई व्यवस्थापन गर्न कानुनी औजारहरू (legal instruments) अनिवार्य आधारका रूपमा स्थापित भएका छन्।

नेपालमा संविधानदेखि लिएर विभिन्न ऐन, नियमावली र नीतिहरूले सुरक्षित सरसफाइलाई मौलिक हक र राज्यको जिम्मेवारीको रूपमा परिभाषित गरेका छन्। नेपालको संविधानले स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकका रूपमा मान्यता दिएको छ, जसले सरसफाइलाई कानुनी आधार प्रदान गर्दछ।

यसै गरी खानेपानी तथा सरसफाइ ऐन र स्थानीय सरकार सञ्चालन ऐनले नगर तथा गाउँपालिकाहरूलाई सरसफाइ व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण, फोहोर व्यवस्थापन र सुरक्षित मलमूत्र व्यबस्थापनको जिम्मेवारी दिएको छ। यी कानुनी प्रावधानहरूले संस्थागत जिम्मेवारी स्पष्ट पारेर कार्यान्वयनमा बल पुर्‍याएका छन्।

अन्तर्राष्ट्रिय कानुनी प्रतिवद्धता पनि समान रूपले महत्वपूर्ण छन्। नेपालले दिगो विकास लक्ष्य (SDG) ६ अन्तर्गत  “सुरक्षित पानी र सरसफाइ सबैका लागि” प्राप्त गर्ने संकल्प गरेको छ। यसैका लागि नेपाल सरकारले बनाएको सरसफाइ सरसफाइ गुरुयोजनाले खुला दिसामुक्त अभियान, शौचालयको पहुँच र सुरक्षित मलमूत्र व्यवस्थापनलाई कानुनी रूपमा बाध्यकारी दिशानिर्देश दिएको छ।

कानुनी औजारहरूको उपदेयता तीन तहमा प्रकट हुन्छ


१. मानक निर्धारण (Standard Setting): कानुनले शौचालय निर्माण, फोहोर व्यवस्थापन र ढल प्रशोधन सम्बन्धी न्यूनतम प्रावधानहरू तोक्छ। यसले असुरक्षित अभ्यासलाई रोक्दै स्वास्थ्य र वातावरणीय मापदण्ड कायम गर्न मद्दत पुर्‍याउँछ।


२. कार्यान्वयन र दण्ड व्यवस्था (Implementation & Sanctions): कानुनले नियम उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई जरिवाना वा सजाय तोक्छ। यसले जिम्मेवारीबोध र अनुशासन सुनिश्चित गर्छ।


३. अधिकार सुनिश्चितता (Right Protection): कानुनी औजारहरूले नागरिकलाई सुरक्षित सरसफाइ सेवामा पहुँच पाउने अधिकार दिन्छन्, जसलाई स्थानीय निकाय वा राज्यले सुनिश्चित गर्नुपर्छ।

यद्यपि, कानुनी औजारहरूको पूर्ण उपदेयता अझै चुनौतीपूर्ण बनेको छ। कानुन भए पनि ग्रामीण भेगमा संरचना अभाव, प्राविधिक सीपको कमी, जनचेतना अभाव र स्रोत साधनको न्यूनताका कारण यसको प्रभावकारीता घटेको छ।

कार्यान्वयन निकाय बीचको समन्वय कमजोर हुनु, निरीक्षण र अनुगमन प्रणाली फितलो हुनु र दण्डात्मक कार्यवाही कम हुनु पनि ठूलो कमजोरीका रूपमा देखिन्छ।

तसर्थ, कानुनी औजारहरूको उपदेयतालाई व्यवहारमा उतार्न तीन कुरा अनिवार्य छन्।

(१) स्थानीय तहमा स्रोत र क्षमता अभिवृद्धि

(२) कानुन कार्यान्वयनमा पारदर्शिता र कडाइ

र (३) समुदायस्तरमा जनचेतना तथा सरोकारवालाको सक्रिय सहभागिता।

कानुन केवल कागजमा सीमित नभई व्यवहारमा प्रयोग भए मात्र मानव मलमूत्र व्यवस्थापन प्रणाली टिकाउ र प्रभावकारी बन्न सक्छ। त्यसैले मानव मलमूत्र व्यवस्थापनका लागि कानुनी औजारहरू आधारभूत ढाँचा र दिशानिर्देशक हुन्। तिनको उपदेयता तबमात्र उच्च हुनेछ, जब कानुनको प्रभावकारी कार्यान्वयन, संस्थागत उत्तरदायित्व र नागरिक सहभागिता सन्तुलित रूपमा अघि बढाइन्छ।

यसरी कानुनी औजारले स्वास्थ्य, वातावरण र मानव अधिकारलाई सुरक्षित गर्ने दीर्घकालीन आधार तयार पार्छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार