सहभागीको प्रश्न : श्रीमानले ब्रा, पेटीकोट वा भित्री वस्त्र उठाउन घिन मानेर हुन्छ ?

बर्दिया : ‘श्रीमतीको भित्री वस्त्र, ब्रा वा पेटीकोट उठाउन पनि घिन, हिनताबोध वा असजिलो मान्ने ?’ बर्दियाको मैनापोखरमा आयोजना गरिएको पूर्ण सरसफाइ तथा महिनावारी हुँदाको स्वच्छता सम्बन्धी एक दिने तालिमका सहभागीले यस्तै प्रश्न गरे ।

 

महिनावारी जस्तो प्राकृतिक प्रक्रियालाई पनि लुकाएर लज्जाको विषय बनाएको र कपडाको प्याड धोएर पनि लुकेर सुकाउनुपर्ने अवस्था रहेको छलफलका क्रममा बताए । तालिमका प्रमुख अतिथि समेत रहेका बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले आर्थिक रूपमा सम्पन्न हुनु सबैको चाहना भएता पनि शारीरिक, मानसिक रूपमा स्वस्थ भएर आत्मसम्मान पूर्वक खुशी भएर बाँच्न सामाजिक स्वास्थ्य कायम गर्न आवश्यक रहेको बताउनुभयो ।

‘सरसफाइ सम्बन्धी जानकारी र ज्ञान भएर पनि त्यसलाई व्यवहारमा लागु गर्न हेलचेक्र्याई गर्ने प्रवृत्ति रहेको देखिन्छ । सुन्दा सानो कुरा भएपनि साबुन पानीले हात धुने, सुरक्षित पानी पिउने, ताजा सुरक्षित खाना खाने व्यवहारले मानिसलाई स्वस्थ बनाउँछ’ उहाँले भन्नुभयो ।

दिर्घकालीन सोच राखेर सरसफाइका साथ साथै अन्य विकासका काममा लाग्न गाउँपालिकाबासीमा अनुरोध गर्दै अध्यक्ष श्रेष्ठले पूर्ण सरसफाइ सम्बन्धी गतिविधि सञ्चालन गर्दा सहजीकरण गर्ने निकायसँग आर्थिकबाट समेत हातेमालो गर्ने बताउनु भयो ।

 

बढैया गाउँपालिका वडा नं. ६ का अध्यक्ष रामहर्ष थारूले पूर्ण सरसफाइ र महिनावारी हुँदाको स्वच्छता सम्बन्धी अति महत्त्वपूर्ण तालिम सञ्चालन गरेकोमा धन्यवाद दिदै तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

तालिमका प्रशिक्षक एवं यु.एन. ह्याविट्याटका जिल्ला संयोजक बिष्णु दवाडीले महिनावारी स्वच्छता र सरसफाइ व्यवस्थापन सम्बन्धी प्रस्तुतीकरण गर्दै विश्वका ५२ प्रतिशत हिस्सा ओगटेका महिला तथा त्यसको ५० प्रतिशत प्रजनन उमेर समूहका महिलाको खानेपानी र सरसफाइ, स्वास्थ्य, शिक्षा र अन्य मानवअधिकार जस्तै आत्मसम्मानपूर्वक विभेदमुक्त वातावरणमा गर्वका साथ बाँच्न पाउने अधिकारको प्राप्तिका लागि संयुक्त राष्ट्र संघले महिनावारी स्वच्छता व्यवस्थापनलाई विश्वव्यापी रूपमा सम्बोधन गर्दै प्रमुख मुद्दाको रूपमा अगाडि सारेको बताउनुभयो ।

उहाँले विश्वमा महिनावारी हुँदा पढ्न जान नपाएका ३६ प्रतिशत छात्रा र काम गर्न जान नपाएका ९६ प्रतिशत कामकाजी महिलाको बाध्यता हटाउन महिनावारीमैत्री शौचालय र सामग्रीको उपलब्धता हुनु पर्नेमा जोड दिनुभयो ।

‘महिनावारी सम्बन्धमा समाजमा रहेका कुसंस्कार र गलत धारणालाई हटाउन महिनावारी सम्बन्धमा समाजमा जागरण ल्याउन आवश्यक छ’ उहाँले भन्नुभयो ‘लैगिक भूमिका प्राकृतिक र महिनावारी हुनु शारीरिक प्रकृया भएकोले यससम्बन्धी गलत सोच र व्यवहार बदल्न आवश्यक छ ।’

 

५ बुँदे प्रतिबद्धता

तालिमका सहभागीले महिला पुरुष समविकासका लागि महिलाका समस्या समाधानका लागि पुरुषले पनि जिम्मेवारी बहन गर्नु पर्नेमा जोड दिदै महिनावारी र पूर्ण सरसफाइमा लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् ।


१. म महिनावारीको बिषयमा चुप लागेर बस्दिन ।

२. म महिनावारी सम्बन्धी कुरा गर्न लाज मान्दिन बरू गर्व गर्छु ।

३.  म महिनावारी सम्बन्धी सन्देशलाई घरभित्र, विद्यालय र समुदायमा फैलाउँछु ।

४. म पूर्ण सरसफाइ अभियानमा सक्रिय भएर लाग्नेछु ।

५. सन २०२० सम्ममा बर्दिया जिल्लालाई पूर्ण सरसफाइ उन्मुख बनाउन आफ्नो घर, वडा, गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख बनाउन योगदान गर्छु ।

 

यु.एन. ह्याविट्याटको सहयोग र आइडिएस नेपालर/मायुस बर्दिया को सहजीकरणमा बढैयाताल गाउँपालिका/ वडा स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको तालिममा ५४ जनाको सहभागिता थियो । तालिममा गर्व नामक भिडियो र महिनावारी सम्बन्धी बृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार