अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा जिल्ला स्तरीय महिनावारी स्वच्छता व्यवस्थापनका विषयमा कपडाको प्याड तयारी, प्रयोग र विसर्जन सम्बन्धी तालिम दिइएको छ । कपडाको प्याड तयार पार्ने तरिका, यसको प्रयोग गर्ने विधि र प्रयोग पछि विसर्जन गर्ने विषयमा जानकारी गराउने उद्देश्यले अघाँखाँचीको विभिन्न क्षेत्रमा महिलालाई तालिम दिइएको हो ।

अर्घाखाँचीमा सञ्चालन भइरहेको पूर्ण सरसफाइ अभियान अन्तर्गत नै महिनावारी व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरेको प्रागका निर्देशक प्रेमनारायण गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार अर्घाखाँचीका धातिवाङ, धारापानी, सुवर्णखाल, सिद्धारा, धनचौर, जलुकै लगायत स्थानमा पूर्ण सरसफाइ अभियानले गति लिएको छ ।
तालिम पछि सहभागीले कपडाको प्याड बनाउने सीप सिकेको र पूर्ण सरसफाइ र स्वच्छतालाई कायम गर्न जथाभावी विसर्जन गर्न नहुने कुरा थाहा पाएको बताएका छन् । प्याड बनाउने र उचित ठाउँमा विसर्जन गर्ने तरिका आफ्ना छरछिमेकका दिदी बहिनीलाई समेत सिकाउने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालले महिनावारी नियमित र प्राकृतिक प्रक्रिया भएकाले यसलाई स्वच्छता राख्नुपर्नेमा जोड दिनुभयो ।

यु एन ह्याविट्याटका अर्घाखाँची जिल्ला संयोजक भरत केसीले यस प्रकारका तालिम पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेका नगर तथा गाउँमा समेत सञ्चालन गर्ने बताउनुभयो ।


715 पटक हेरिएको 

