
रेसुङ्गा : गुल्मीको रेसुङ्गा–भाडगाउँ–मझेङखोला लिफ्ट खानेपानी योजनाको सफल परिक्षण गरिएको छ । निर्माण व्यवसायी कनकाई जयमाता जेभीले छ पटक म्याद थप गर्दा बल्ल पहिलो चरणको काम सम्पन्न गरेका हुन् ।
यो योजना सम्झौता २०७९ असोज २८ सम्म सम्पन्न गर्ने गरी २०७७ असोज २३ गते निर्माण सम्झौता भएको थियो । करिब पाँच वर्ष हुँदा बल्ल पहिलो चरणको काम सम्पन्न गरी खानेपानी परिक्षण गरिएको हो ।
कनकाई जयमाता जेभी प्रालिसँग २५ करोड १२ लाख ७१ हजार रुपियाँमा खानेपानी आयोजना निर्माणको सम्झौता भएको थियो । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख अतुलेशकुमार कर्णका अनुसार अहिलेसम्म इन्टेक, फिल्टर, पम्पिङ स्टेसन, १२५ घनमिटरका तीन वटा, ५० घनमिटरका तीन, २५ घनमिटरका तीन र २० घनमिटरका दुई वटा गरी ट्याङ्की निर्माण र पाइप लाइनको काम भएको छ । योजना अन्तर्गत पाँच वटा स्टेसन छन् ।
कार्यालय प्रमुख कर्णले घर घरमा पानी वितरणका लागि अझै करिब १८ करोड रुपियाँ बजेट आवश्यक पर्ने बताउनुभयो । त्यसका लागि फाइल विभाग हुँदै अर्थ मन्त्रालय गएकाले बजेटको स्रोत सुनिश्चित हुने बित्तिकै कामको ठेक्का प्रक्रिया अगाडि बढ्ने कार्यालय प्रमुख कर्णले बताउनुभयो । आयोजनाको काम सम्पन्न भएपछि प्रतिसेकेन्ड २८ लिटर पानी उपलब्ध हुने बताइएको छ ।
पहिलो चरणको काममा अहिलेसम्म करिब ९० प्रतिशत भौतिक र ८८ प्रतिशत आर्थिक प्रगति भएको छ ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले मझेङको खानेपानीको सफल परीक्षण भएकाले निकट समयमा घर घरमा विस्तार हुने बताउनुभयो । जनताले खानेपानीको लामो समय प्रतिक्षा गरिरहेकाले मन्त्रालय, विभागमा छलफल गर्ने र निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरेर थप कामका लागि अझै लागिरहेको पन्थीले बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाका १३ वडामा खानेपानीको पहुँच पुर्याउन रेसुङ्गा–भाडगाउँ–मझेङखोला खानेपानी आयोजना समयमै नसकिएपछि स्थानीय निराश छन् । रेसुङ्गा नगरपालिका–७ का भेषबहादुर केसीले आयोजना सुरु भएको आधा दशक बितिसक्दा समेत सम्पन्न हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो।
यो योजनाले रेसुङ्गा नगरपालिकाको एउटा वडा बाहेक अरू सबै वडामा खानेपानीको सेवा पुग्ने लक्ष्य राखिएको छ ।
तत्कालीन सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीले हेर्दै आएको यो खानेपानी आयोजना हाल खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रुपन्देहीले हेर्दै आएको छ । अर्घाखाँचीमा रहेको कार्यालय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रुपन्देहीमा गाभिएपछि यो आयोजना खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रुपन्देहीले कार्यान्वयन गरिरहेको छ ।


348 पटक हेरिएको 

