
काठमाडौ : खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका कर्मचारीहरुको मनपरी सरुवा गरिएको छ । निर्वाचन आचार संहिता लागु हुनु भन्दा एक दिन अगाडि कर्मचारीको व्यापक सरुवा गरिएको हो।
सेवा निवृत्त हुन १ बर्ष मात्र बाँकी रहेको, पदस्थापना भएको ५ महिना मात्र भएका र त्यस अघि सरुवा भै पाँच महिना पनि व्यतित नगरेका कर्मचारीको समेत मनपरी सरुवा गरिएको छ ।
मन्त्रालयका निकट स्रोतका अनुसार खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रामेछापका प्रमुख राजेन्द्र श्रेष्ठलाई खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरको उपप्रमुखमा सरुवा गरिएको छ । रामेछापमा भने खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनकुटाका प्रमुख हेराकाजी महर्जनलाई ल्याइएको छ ।
यस्तै खानेपानी तथा ढल व्यवस्थापन कार्यालय लम्जुङका प्रमुख नरेश रेग्मीलाई खानेपानी मन्त्रालय सरुवा गरिएको छ । मन्त्रालयमा कार्यरत उत्सव पोखरेललाई लम्जुङ सरुवा गरिएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरका उपप्रमुख अरुण खरेललाई भने धनकुटाको प्रमुख बनाएर पठाईएको छ। रामप्रसाद घिमिरेलाई खानेपानी मन्त्रालयबाट खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगंज सरुवा गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन बिभागमा कार्यरत महेश न्यौपानेलाई भने खानेपानी मन्त्रालयमा तानेको छ ।
खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको चौथो दिनमै गत पुस २३ गते खानेपानीमन्त्री डा.मदन परियारले प्रथम तथा द्धितिय श्रेणीका करिब १० जना कर्मचारीहरुको सरुवा गरेका थिए।


1040 पटक हेरिएको 

