
बंगलादेश : न्यु अर्लिन्समा कसैले पिउने पानीका लागि धारा खोले पानी नुनिलो हुन्छ । बंगलादेशमा किसानहरू उर्वर जमिनलाई नुनिलो पोखरीमा परिवर्तन गरेर झिँगा पालन गर्न बाध्य छन् । गाम्बियामा एक किसानले आफ्ना बाली नुनिलो पानीले सिँचाइ गर्नु पर्दा सुक्दै गएको बताउँछिन् ।
विश्वभर पहिले भरपर्दा रहेका तटीय मीठो पानीका स्रोतहरू समुद्री पानीले आक्रान्त भई नुनिलो बन्दै गइरहेका छन् । यो नुनिलो पानीको अतिक्रमण बिस्तारै अघि बढ्दै गइरहेको छ । जुन गम्भीर संकट हो । जसले संसारभरका समुदायहरूलाई असर गरिरहेको छ ।
नुनिलो पानीको अतिक्रमण भनेको समुद्र वा महासागरबाट आएको नुनिलो पानी भित्री भूमिगत जलभण्डारमा पस्नु हो । यो समस्या हालसम्म गाम्बिया, भियतनाम र बंगलादेश जस्ता तल्लो भू–भाग भएका देशहरूमा बढी देखिएको छ, तर यो विश्वव्यापी समस्या हो । जसमा अमेरिका पनि पर्छ ।
अनुमानअनुसार २०५० सम्म अण्टार्कटिका बाहेक सबै महादेशका तटीय क्षेत्रमा कम्तीमा एक किलोमिटर भित्रसम्म नुनिलो पानी पस्नेछ । अमेरिकाको फ्लोरिडा राज्यको दक्षिणी भागमा अवस्थित बिस्केन जलभण्डार, जुन त्यहाँको मुख्य मीठोपानी स्रोत हो, अहिले नुनिलो पानीको जोखिममा छ । ‘रोड आइल्याण्ड’ मा कुवाहरू नुनिलो पानीले दूषित भएको पाइयो । लुइजियानाका बासिन्दाहरूले धाराको पानीमै नुनिलो स्वाद महसुस गर्न थालेका छन् ।
नुनिलो पानी पिउनु केवल असहज मात्र होइन; अनुसन्धानले देखाएको छ कि यस्तो पानी सेवन गर्ने मानिसहरूमा उच्च रक्तचाप र गर्भावस्थासम्बन्धी स्वास्थ्य समस्या बढ्ने जोखिम हुन्छ । यो समस्या समुद्री सतह र भूमिगत पानी सतहबीचको सन्तुलन बिग्रिँदा हुन्छ । समुद्री सतह बढ्दा वा भूमिगत पानी अत्यधिक निकासी हुँदा नुनिलो पानी भित्रतर्फ सर्दै जान्छ । जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, घट्दो वर्षा र समुद्री सतह वृद्धिले यसलाई अझ गम्भीर बनाएको छ ।
किसानहरूका लागि संकट
‘द गाम्बिया’ विश्वका सबैभन्दा तल्लो भू–भाग भएका देशहरूमध्ये एक हो । यहाँ १९औं शताब्दीदेखि नै नुनिलो पानीको अतिक्रमण देखिएको थियो, तर अहिले जलवायु परिवर्तन यसको मुख्य कारण बनेको छ ।
‘गाम्बिया रिभर’ जुन पश्चिम अफ्रिकाको सबैभन्दा लामो जलमार्गमध्ये एक हो, गाम्बियाको धानखेतीको मुख्य पानी स्रोत हो । तर अहिले यो नदी समुद्री सतह नजिकै भएकाले नुनिलो पानी २५० किलोमिटरसम्म भित्र पसिरहेको छ । सन् १९७० दशकयता यहाँको वार्षिक वर्षा करिब ३० प्रतिशतले घटेको छ, जसले भूमिगत पानी पुनर्भरण कम गरिरहेको छ ।
२००९ देखि २०२३ बीच गाम्बियामा धान खेती हुने क्षेत्र ४२ प्रतिशतले घट्यो र उत्पादन २६ प्रतिशतले कम भयो । देशका ९१ प्रतिशत अत्यन्त गरिब जनता किसान भएकाले यो खाद्य सुरक्षाका लागि गम्भीर खतरा हो ।
नर्स सेननेह, जो सानैदेखि धानखेती गर्दै आएकी थिइन्, चार वर्षअघि आफ्नो खेतमा समुद्री नुनिलो पानी पस्न थालेपछि उत्पादन घट्दै गएको देखिन् । उनले माटोका बोराले अस्थायी बाँध बनाउने प्रयास गरिन्, तर सफल भइनन् । अन्ततः उनले खेत त्याग्नु पर्यो । अहिले उनी कम उत्पादन हुने सानो जमिनमा खेती गर्छिन् र परिवारका लागि चामल किन्न बाध्य छिन् ।
समाधानको खोजी
भियतनाममा २०१६ को एल निनोका कारण आएको खडेरीले नुनिलो पानी ९० किलोमिटरसम्म भित्र पुर्यायो । त्यसपछि सरकारले मेकङ डेल्टा जोगाउन ठूला स्लुइस गेटहरू निर्माण गर्यो ।
चाइना र नेदरल्याण्डले प्रशोधित फोहोर पानी पुनः प्रयोग गरी भूमिगत जलस्तर बढाउने उपाय अपनाएका छन्, जसले नुनिलो पानीलाई पछाडि धकेल्न मद्दत गर्छ । गाम्बियामा १९९४ मा बाँध निर्माण गरिएको थियो, तर अहिले मर्मत आवश्यक छ । विशेषज्ञहरू भन्छन्, ‘एकै उपायले सबै ठाउँमा काम गर्दैन ।’ २१०० सम्म विश्वका करिब ७७ प्रतिशत तटीय क्षेत्र नुनिलोपनबाट प्रभावित हुने अनुमान छ ।
भविष्यमा जीवन असहय
धानखेतीमा निर्भर किसानहरूको जीविका जोखिममा छ । धेरैले तरकारी खेतीतर्फ सरेका छन्, तर आम्दानी पर्याप्त छैन । बढ्दो आयातमा निर्भरता खाद्य संकट निम्त्याउन सक्छ । नर्स सेननेह भन्छिन्, ‘यदि स्थायी समाधान भएन भने भविष्यमा जीवन असह्य हुनेछ ।’ नुनिलो पानीको अतिक्रमण आँधी वा बाढीझैं अचानक देखिने विपत्ति होइन । तर यो बिस्तारै फैलिने संकट हो, जसले तटीय समुदायहरूको भविष्य नै परिवर्तन गर्न सक्छ ।


174 पटक हेरिएको 

