
दोलखा : कालिञ्चोक गाउँपालिका–४ हिलेपानीका घरघरमा पानीका धारा बनेका छन् । । घरघरमा खानेपानीका धारा यहाँका बासिन्दाको सपना नै हो जुन बल्ल पूरा हुँदै छ । एक वर्षअघि बनेका कुनै धारामा केहीमा पानी झरेको छ भने कुनैमा झर्न बाँकी नै छ । यसअघि गाउँमा पानी ल्याउने वाचासहित वडा अध्यक्ष दीपक खुलालले चुनाव पनि जितेका थिए ।
यद्यपि, माथिल्लो गाउँमा पानी आए तापनि उनकोमा आएको छैन । एक दशकअघि गाउँमा मानिसको बसोबास बाक्लै थियो । तर, गाउँघर जंगलले ढाकेका छन् । गाउँमा फट्टफुट्ट मात्रै मान्छे भेटिन्छन् । अब गाउँमा कालोपत्रे चिल्ला सडक र घरघरमा पानीको धारो आएपछि मानिस गाउँ फर्कनेमा उनी आशावादी छिन् ।
९ किलोमिटर टाढाको पानी गाउँमा
हिलेपानीमा ९ किलोमिटर टाढाबाट पानी ल्याइएको हो । कालिञ्चोक–१ मेरेक्पाको मुहानबाट पानी ल्याइएको छ । पानी गाउँसम्म ल्याउन तीन वर्ष लागेको छ । अघिल्लो वर्षसम्म वडा नम्बर ४ मा २३४ घरमा धारा बनेका थिए । मेरेक्पा खानेपानी योजना वडा नम्बर ३ र ४ का लागि बनेको हो । यसले अधिकांश वडा नम्बर ४ का गाउँघरमा पानीको सुविधा पुग्नेछ भने केही ३ वडामा पनि पुग्छ । गत वर्ष वडा नम्बर ३ मा ७० धारा बनेका छन् । यसका लागि १३ वटा पानी जम्मा गर्ने ट्यांकी बनेका छन् । यस वर्ष अपुग एउटा रिजर्भ ट्यांकी र थप २२ वटा धारा बन्ने वडा अध्यक्ष खुलालले जानकारी दिए ।
सुख्खा ठाउँका वडा नम्बर ४ मा संस्कृतग्राम, हिलेपानी, लामपोखरी, माथिल्लो गुमु, बस्नेत गाउँ, थापा गाउँ र बाघखोरमा धारा बनेका छन् । त्यसैगरी वडा नम्बर ३ का लामबारी, बोझिनी र पोखरेमा पानीको धारा बनेका छन् । यो खानेपानी योजनाका लागि बागमती प्रदेश सरकारबाट अघिल्लो दुई वर्षमा एक करोड खर्च भएको छ भने गाउँपालिकाबाट समेत यसमा खर्च भएको छ । चालु आर्थिक वर्ष पनि प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ । यस वर्ष बाँकी काम पूरा गरेर हरेक घरघरमा खानेपानी सुविधा पुर्याउने गाउँपालिकाले लक्ष्य राखेको छ ।
सहर पसेकाहरू गाउँ फर्कन थाले
निर्वाचनमा वडा अध्यक्ष खुलालले पानीकै अभावका कारण गाउँ छाड्नेसँग पानी ल्याउने जिम्मा आफ्नो भएको तर गाउँ फर्कन पनि आफ्ना मतदातालाई वाचा गराएका थिए । उनीसँग वाचा गरेका पूरा भए पछि केही मानिस गाउँ फर्कन थालेका छन् । केहीले गाउँ फर्केर घर र बगैंचा सरसफाइ गरेका छन् । केही मानिस घर थप पुनर्निर्माणको काम पनि गर्दै छन् । नेपाली सेनामा लामो समय सेवा गरेर निवृत्त भएका पूर्वप्रमुख सेनानी ताराबहादुर कार्की अहिले गाउँमै बसेर घर निर्माण गर्दै छन् ।
अहिले उनी गाउँ फर्केपछि पुराना साथीभाइसँग पनि भेटघाट भइरहेको उनले बताए । गाउँमा सडक, पानी, बिजुली सबै भएपछि निवृत्त जीवन अब गाउँमै बिताउने फर्केको उनले बताए । कार्कीजस्तै दीपक घिमिरे, ताराशंकर घिमिरे, चित्रशंकर घिमिरेलगायत गाउँ फर्केका वडा अध्यक्ष खुलालले बताए । धेरै जना गाउँ फर्कने तयारी गरेका उनले बताए । पानीकै अभावका कारण एक दशकअघि गुल्जार हिलेपानी गाउँ अहिले जंगलमा परिणत भएको छ । हिलेपानी बाहुन गाउँ कुनैबेला चर्चित गाउँ हो । बाक्लो बस्ती, घिमिरेहरूको बाहुल्यता रहेको यो बस्तीकै कारण हिलेपानी संस्कृत विद्यालय पनि खुलेका हो ।
१० वर्षअघिको भूकम्पपछि गाउँ सुनसानझैं छ । राहतमा बनेका घरमा पनि सिस्नो उम्रेको छ । यस गाउँमा पानीका लागि स्कुलछेउको ढुंगेधारो र वरपरका केही कुवा मात्रै छन् । ती पनि सुक्दै गएपछि स्थानीयले गाउँ नै छाडेका थिए । भूकम्पबाट ढलेका घर पुनर्निर्माणपछि ३६ घर बनेका छन् तर २१ घर खाली छन् । घर वरपर सिस्नु र वनमारा उम्रेका छन् । फलफूलका बगैंचा विस्तारै सुक्दै गएका छन् । त्यसो छ गाउँमा केही घरमा बसोबास छ । त्यसमा पनि बुढाबुढी मात्र बसेका छन् । बारीमा खेतीपाती गर्न छाडिएको छ । युवाहरू भने सहरतिरै बसाइँ सरेका हुन् । कारोबार दैनिकबाट साभार।


213 पटक हेरिएको 

