चितवन : थाप्राङका ७० वर्षीय राजबहादुर चेपाङको घरमा शौचालय निर्माण गर्ने रहर अपुरो छ। शौचालय बनाउनुपर्छ भन्ने थाहा पाए पनि बनाउन नसकेको उनको गुनासो छ। शौच गर्न भिरपाखामा जाने गरेको उनले बताए। आर्थिक अवस्था कमजोर भएकै कारण उनले शौचालय बनाउन नसकेका हुन्।
‘शौचालय बनाउँछु भनेर मात्रै नहुने रहेछ’, उनले भने, ‘पैसा र सामान पनि पाउनुप-यो नि। सरकारले सामान दिने भए बनाउन हुन्थ्यो।’ शौचका लागि पत्नी, छोराबुहारी सबै नजिकैको जंगलमा जाने गरेको उनको भनाइ छ। गाउँमा धेरैको घरमा शौचालय छैन। चेपाङ जातिको बाहुल्य रहेको थाप्राङ गाउँमै शौचालय छैन। शौचालय नबनाउनु उनीहरूको बाध्यता हो।

शौचालय नभएकै कारण गाउँवरिपरिका डाँडा दुर्गन्धित छन्। शौचका लागि सानादेखि ठूला सबै जंगल जाने गर्छन्। आर्थिक अवस्था कमजोर भएकै कारण शौचालय नभएको स्थानीय चाम्रे चेपाङले बताए। शौचालयका लागि सिमेन्ट, जस्तापाता, प्यानलगायतका सामग्री खरिद गर्न आर्थिक अभाव छ। ‘शौचालय बनाउनुपर्छ भन्ने थाहा भए पनि खर्च जुटाउन नसक्दा नबनाइएको हो’, चाम्रेले भने, ‘नजिकका खोल्साखोल्सीमा जानुका विकल्प छैन।’ शौचालय बनाउन कसैले पनि सिकाउन पुगेका छैनन्। थाप्राङ आसपासका गाउँमा समेत शौचालय नभएको खबर अन्नपूर्ण पोष्टले छापेको छ ।
खुला दिसामुक्त जिल्ला घोषणा गरिएको चितवनको थाप्राङमा शौचालय नहुनु दुर्भाग्य रहेको स्थानीय बताउँछन्। ७८ घरधुरीमा एउटाबाहेक सबै घर शौचालय विहीन छ। गाउँपालिका सदस्य भद्रबहादुर प्रजाको घरमा मात्रै शौचालय छ। उनले पाँच वर्षअघि शौचालय बनाएका हुन्। ‘अरूले पनि सिको गर्लान् भनेर मैले बनाएँ’, प्रजाले भने, ‘तर कसैले बनाएनन्।’


775 पटक हेरिएको 

