लैङ्गिक समावेशी पानी व्यवस्थापनको आवश्यकतामा जोड

  वास खबर सम्बाददाता  204 पटक हेरिएको

ललितपुर : विश्व पानी दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यशालामा लैङ्गिक समावेशी र उत्तरदायी पानी व्यवस्थापनलाई दिगो विकासको आधारका रूपमा जोड दिइएको छ।

विश्व पानी दिवसको अवसरमा वाटर एड नेपाल, एस.एन.भी. नेपाल लगायत संस्थाहरुको सहकार्यमा स्मार्ट वास सोलुसन्स्ले आयोजना गरेको कार्यक्रमका वक्ताहरूले विश्वव्यापी रूपमा अझै पनि ठूलो संख्यामा मानिसहरू सुरक्षित खानेपानीको पहुँचबाट वञ्चित रहेको तथ्य प्रस्तुत गर्दै, पानी व्यवस्थापनमा महिला तथा सीमान्तकृत समुदायको सहभागिता अत्यन्त न्यून रहेको उल्लेख गरे।

कार्यक्रमका सभापति समेत रहेका स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप शाहले पानीसँग प्रत्यक्ष सम्बन्ध महिलासँग बढी भए पनि नीति निर्माण र निर्णय प्रक्रियामा उनीहरूको प्रतिनिधित्व सीमित रहेको बताउनुभयो।

कार्यशालामा प्रस्तुत तथ्यांक अनुसार, उपभोक्ता समितिहरूमा महिलाको सहभागिता अझै पनि अपर्याप्त रहेको छ भने पानी सम्बन्धी निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न संरचनागत सुधार आवश्यक रहेको बताइएको छ। साथै, जलवायु परिवर्तनका कारण पानीका स्रोतहरूमा पर्ने असरले चुनौती थपिरहेको र यसले विशेषगरी महिलालाई अझ बढी प्रभावित गरिरहेको उल्लेख गरिएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले लैङ्गिक समानता सुनिश्चित नगरी पानी व्यवस्थापनलाई प्रभावकारी बनाउन नसकिने धारणा राखे। उनीहरूले पानीको पहुँच, गुणस्तर र व्यवस्थापनमा सबै वर्ग, लिङ्ग र समुदायको समान सहभागिता आवश्यक रहेकोमा जोड दिए।

हालको पानी व्यवस्थापनको अवस्था, समस्या र चुनौतीहरू पहिचान गर्दै समाधानका उपायहरूमा छलफल गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अध्यक्ष शाहले समावेशी र लैङ्गिक उत्तरदायी पानी व्यवस्थापनका लागि व्यवहारिक नीति तथा कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले पानीको क्षेत्रमा प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पानी र एआई सम्बन्धी कार्यशालाको आवश्यकता औल्याउनुभयो। वक्ताहरूले व्यक्तिपरक प्रयाससँगै संस्थागत संरचना र नीतिगत सुधार मार्फत मात्र दिगो र समावेशी खानेपानी सेवा सुनिश्चित गर्न सकिने बताएका थिए।

कार्यक्रममा आयोजित प्यानल छलफलमा समेत पानी व्यवस्थापनमा लैङ्गिक समानता, महिलाको नेतृत्व तथा सामुदायिक सहभागिताको महत्वलाई विशेष रूपमा उजागर गरेका थिए। छलफलका वक्ताहरुले पानी व्यवस्थापनलाई लैङ्गिक दृष्टिकोणबाट पुनर्विचार गर्नुपर्ने र सबै तहमा समावेशी सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्।

“नेपालमा समान र समावेशी खानेपानी सेवाका चुनौती, मुद्दा र आगामी बाटो” बिषयक प्यानल छलफलमा धुलिखेल नगरपालिकाका निवर्तन मेयर अशोक व्यन्जु, खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर इन्दिरा पराजुली र फेडवासनका वरिष्ठ उपाध्यक्ष दुर्गा चापागाईं हुनुहुन्थ्यो।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरू, सरकारी अधिकारी, विकास साझेदार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह २०८२ सप्ताहव्यापी कार्यक्रम गरी मनाईरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार