१२६ करोड लागतको धौलिगाड खानेपानी आयोजना अलपत्र

  वास खबर सम्बाददाता  383 पटक हेरिएको

जुम्ला : जुम्लाका ८ हजार बढी घरधुरीमा ‘एक घर, एक धारा’सहित निर्माण गर्न लागिएको धौलिगाड खानेपानी आयोजना अलपत्र परेको छ । निर्माण सुरु भएको पाँच वर्षसम्म आयोजना अघि नबढ्दा जुम्लामा स्वच्छ खानेपानीको अभाव देखिएको छ । २०७८ चैत ५ गते तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले आयोजना शिलान्यास गरेका थिए । २०६६ सालदेखि प्रक्रिया थालिएको आयोजनाले २०७८ सालबाट औपचारिक निर्माण सुरु भएको थियो ।

दोस्रोपटक २०८२ चैतसम्मका लागि थपिएको म्याद सकिन लाग्दासमेत काम सम्पन्न भएको छैन । बजेट अभाव र ठेकेदारको ढिलासुस्तीले समयमै काम सम्पन्न नभइरहेका बेला एक वर्षअघि जुम्लामा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय हटाइएपछि आयोजना थप अनिश्चित बनेको छ । खानेपानी आयोजनाअन्तर्गत पहिलो प्याकेजमा गाउँका धारामा पानी ल्याउनुपर्ने र दोस्रो प्याकेजअन्तर्गत गाउँमा ९ हजार बढी खानेपानी धारा, ट्यांकी, पाइपलाइन विस्तारको काम गर्नुपर्ने गरी दुई चरणमा काम विभाजन गरिएको थियो ।
कुल १२६ करोड लागतको आयोजनाको पहिलो प्याकेजको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७६ प्रतिशत भएको छ । भने दोस्रो प्याकेजको भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ६६ प्रतिशत भएको साइट इन्जिनियर शाहले जानकारी दिए । यद्यपि निर्माण कम्पनी गरेको वाचाअनुसार घरघरमा पानी आइसक्नुपर्ने हो । जुम्लाका जनतालाई सरकारसँगै ठेकेदारले पनि छक्याइरहेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय बताउँछन् ।
कहिले बजेट अभाव, कहिले मौसम प्रतिकूलताको कारण देखाउँदै चरम ढिलासुस्ती भइरहेका बेला जुम्ला खानेपानी तथा ढल व्यवस्थापन कार्यालय खारेजपछि आयोजना नै अलपत्र नै परेको प्रमुख आर्चायको भनाइ छ । कार्यालय खारेजविरुद्व तालाबन्दी गरे पनि माग सम्बोधन हुन सकेन । खानेपानी आयोजनाबाट जुम्लाका गुठिचौर गाउँपालिका, चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका झन्डै ६० हजार नागरिक लाभान्वित हुनेछन् । भने नौ हजार खानेपानी धारा निर्माण हुनेछन् । जसमा हालसम्म ३ हजार धारा निर्माण भइसकेका छन् । पहिलो प्याकेजको फागुन १४ गते र दोस्रो प्याकेजको मंसिर ११ गते समय सकिएको थियो ।

प्रि-इन्सुलेट पाइप विभागले स्वीकृति नगर्दा समस्या

पहिलो प्याकेजको मुहान क्षेत्रमा भने अहिलेसम्म कुनै काम सुरु भएको छैन । समुद्री सतहदेखि चार हजार मिटर उचाइमा रहेको मुहान क्षेत्रमा बाह्रै महिनामा अत्यधिक चिसो हुने र मंसिरदेखि चैतसम्म हिउँ जम्ने भएकाले पानी नजम्ने (प्रि-इन्सुलेट ) पाइप खरिद टुंगो नलाग्दा काम रोकिएको हो ।

मुहान क्षेत्रमा ५१ सय मिटर प्रि-इन्सुलेट (पानी नजम्ने) पाइप बिछ्याउने स्टमेट छ । यद्यपि हालसम्म खरिदको टुंगो लागेको छैन । प्रिइन्सोलेट पाइप चीन, सिंगापुरमा मात्रै पाइने र खरिदका लागि खानेपानी विभागले स्वीकृति प्रदान गर्नुपर्ने भए पनि पटकपटक स्वीकृति माग गर्दा विभागले वास्ता नगरेपछि मुहान क्षेत्रको काम अघि नबढेको आयोजनाका साइट इन्जिनियर डिपेश शाहले बताए । धौलिगाड खानेपानी आयोजना निर्माणको ठेक्का ‘कालिका सिएबी कनकाई जेभी’ले पाएको छ ।

निर्माण कम्पन्नीका साइट इन्जिनियर डिपेश शाहका अनुसार हालसम्म चारपटक विभागमा पाइप खरिदको स्वीकृतिका लागि माग गरिएको छ । उनले भने, ‘प्रिइन्सुलेट पाइप खरिदबिना अन्य संरचना बनाएर काम छैन । खरिदका लागि विभागले स्वीकृति दिएको खण्डको खरिद गरेर नेपाल ल्याउन कम्तीमा ६ महिना लाग्छ । स्वीकृति नपाउँदा मुहानमा काम शून्य भएको छ ।’

पाइप खरिदको स्वीकृतिका लागि २०८० वैशाख ६ गते पहिलोपटक, २०८१ कात्तिक ६ गते दोस्रो, २०८१ मंसिर १० गते तेस्रो र २०८२ जेठ ६ गते गरी चौथोपटक स्वीकृतिका लागि विभागमा पत्र पठाइएको छ । पाइप खरिदका लागि कुल चार करोड बजेट छुटाइएको छ ।

यता धौलिगाड खानेपानी आयोजनाका प्रमुख मनोजराज दैवज्ञले प्रिइन्सोलेट पाइप खरिदका लागि प्रक्रिया अघि बढेको बताए । विविध कारणले ढिला भए पनि पहिलो प्याकेजको काम गरिरहेको चन्द्र एन्ड वसन्त निर्माण सेवाले तीनवटा फर्म तयार गरेर फाइल पेस गरेकाले अबको एक सातामा खानेपानी विभागले स्वीकृति दिने आयोजना प्रमुख दैवज्ञले जानकारी दिए । उनले भने, ‘निर्माण व्यवसायीले नै बाहिरबाट उक्त पाइप ल्याउनेछन् । प्राविधिक कारण ढिला भए पनि अहिले द्रुत गतिमा काम भइरहेको छ ।’ यो खबर कारोबार दैनिकबाट साभार गरिएको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार