गुल्मी : सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जालकी अध्यक्ष एवं सुरक्षित महिनावारी अभियन्ता गुल्मीकी गंगा खड्का सम्मानित हुनुभएको छ । इस्पा गाउँपालिकाको विद्यालयलाई महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय घोषणा कार्यक्रमको अवसरमा खडकालाई गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टले सम्मानपत्र प्रदान गर्नुभयो ।

महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय घोषणा गर्न र सुरक्षित महिनावारी अभियान मार्फत सचेतना फैलाउन निर्वाह गरेको भूमिकाको मूल्याङकन गर्दै सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष विमला खत्रीले जानकारी दिनुभयो ।
उहाँले इस्पा गाउँपालिका भित्रका १९ वटा निमावि र माविका छात्राहरुलाई सुरक्षित महिनावारी सम्बन्धी सचेतनात्मक कार्यक्रम सन्चालन गर्नुभएको थियो कार्यक्रमबाट करिब १ हजार ४ सय छात्रा प्रत्यक्ष लाभान्वित भएको उपाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
खड्काले सेवा सञ्चार मार्फत छात्राहरुलाई महिनावारी भएको समयमा अपनाउनुपर्ने सावधानी, सामग्रीको सुरक्षित प्रयोग, विद्यालयले छात्राहरुलाई महिनावारी भएको समयमा गर्नुपर्ने सावधानी र समाजमा अझै पनि कायम रहेको महिनावारी प्रतिको नकारात्मक सोचाइमा ल्याउनुपर्ने परिवर्तन लगायतका विषयमा अभिमुखीकरण गर्दै आउनुभएको छ ।
विद्यालयमा आफूले सञ्चालन गरेको कार्यक्रमबाट छात्राको नियमित उपस्थिति, फोकल शिक्षिकासँग आफ्ना समस्याहरु राख्ने बानीको विकास र विद्यालयमा सेनेटरी प्याडको नियमित व्यवस्था भएको खड्काले बताउनुभयो ।
सेवा सञ्चारले २०७० साल फागुन १५ गतेदेखि मालिका गाउँपालिका ५ छापाहिलेबाट अभियान शुरु गरेको हो । सेवा सञ्चारले हाल गुल्मी, पाल्पा, सुर्खेत र बैतडीमा महिनावारीमैत्री अभियान सञ्चालन गरिरहेको छ ।


678 पटक हेरिएको 

