
कपिलवस्तु : विजयनगर गाउँपालिका ले वातावरण संरक्षण तथा सरसफाइप्रति जनचेतना फैलाउने उद्देश्यले फोहर सङ्कलन खुला दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
गाउँपालिकाको वडा नं. ३ पत्थरदेइयामा रहेको श्री जनता आधारभूत विद्यालय देखि जगदीशपुर चोकसम्म आयोजना गरिएको प्रतियोगितामा ४० जना सहभागी भएका थिए । सहभागीहरूले दौडसँगै सडक तथा आसपास क्षेत्रमा छरिएका नसड्ने फोहर सङ्कलन गरेका थिए ।
प्रतियोगितामा सहभागीहरूले काँचका गिलास, बोतल, प्लास्टिकका डिब्बा, प्लास्टिकजन्य सामग्री तथा कागजजस्ता नसड्ने फोहर सङ्कलन गरेका थिए ।
सबै सहभागीले मिलेर जम्मा सात क्विन्टल ६० किलो फोहर सङ्कलन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल थापाले सरसफाइलाई अभियानका रूपमा अगाडि बढाउन गाउँपालिकाले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

उहाँले फोहरलाई व्यवस्थापन गर्न सके वातावरण स्वच्छ र स्वस्थ बन्ने उल्लेख गर्दै युवाहरूको सक्रिय सहभागिताले सकारात्मक सन्देश दिएको बताउनुभयो ।
प्रतियोगितामा विवेक सिंह चौधरी प्रथम हुँदै १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्न सफल हुनुभयो । उहाँले ९४ दशमलव २४ किलो नसड्ने फोहर सङ्कलन गर्नुभएको थियो ।
यस्तै अहमद हुसेनले ६१ दशमलव ६६ किलो फोहर सङ्कलन गर्दै दोस्रो स्थान हासिल गरी सात हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । अस्फाक अहमदले ५७ दशमलव २७ किलो फोहर सङ्कलन गर्दै तेस्रो स्थान हासिल गरी पाँच हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा ले फोहर व्यवस्थापन अहिलेको प्रमुख चुनौती रहेको भन्दै यस्ता कार्यक्रमले नागरिकमा व्यवहारिक ज्ञान र जिम्मेवारीको भावना विकास गर्ने बताउनुभयो । विद्यालय तहदेखि नै सरसफाइबारे सचेतना फैलाउन आवश्यक रहेको उहाँको भनाइ थियो । यो खबर गोरखापत्रले प्रकाशन गरेको छ।


224 पटक हेरिएको 

