
काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले महिनावारीका कारण कुनै पनि बालिका तथा किशोरी विद्यालयबाट वञ्चित हुन नपर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै उहाँले महिनावारी महिलाको जीवनचक्रको स्वाभाविक जैविक प्रक्रिया भए पनि त्यसकै कारण बालिका तथा किशोरीले विद्यालय छुटाउनुपर्ने, लाज र डरका कारण आफ्ना समस्या लुकाउनुपर्ने वा आफ्ना सपना रोक्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो।
उहाँले सेभ द चिल्ड्रेनको अध्ययन उद्धृत गर्दै नेपालमा सर्वेक्षण गरिएका ५५.६ प्रतिशत बालिका महिनावारीका समयमा कहिल्यै वा कहिलेकाहीँ विद्यालय अनुपस्थित हुने गरेको तथा १७.८ प्रतिशत बालिका महिनावारी अवधिभर नै विद्यालय जान नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो। यो केवल विद्यालय अनुपस्थितिको विषय नभई सिकाइ, आत्मविश्वास र भविष्यका अवसरसँग जोडिएको गम्भीर चुनौती भएको उहाँको भनाइ थियो।
सांसद अधिकारीले समस्या महिनावारीमा नभई समाजको सोच, विद्यालयको संरचना र व्यवस्थापनमा रहेको बताउनुभयो। उहाँले सार्वजनिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण, पाठ्यक्रममा महिनावारी स्वास्थ्यसम्बन्धी विषय समावेश तथा खानेपानी र सरसफाइका सुविधा विस्तारका लागि सरकारले थालेका प्रयास सकारात्मक भए पनि ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले अहिले पनि धेरै विद्यालयमा छात्रामैत्री शौचालय, स्वच्छ पानी, साबुन, प्याड परिवर्तन गर्ने सुरक्षित स्थान तथा प्रयोग गरिएका प्याडको उचित व्यवस्थापनको अभाव रहेको उल्लेख गर्दै महिनावारीलाई लाज, अपवित्रता र विभेदसँग जोड्ने सामाजिक सोच अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले प्रत्येक सामुदायिक विद्यालयमा पर्याप्त स्यानिटरी प्याडको नियमित आपूर्ति, सुरक्षित छात्रामैत्री शौचालय, स्वच्छ पानी, साबुन, प्याड परिवर्तन गर्ने स्थान तथा वातावरणमैत्री विसर्जन प्रणालीसहित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी सुविधा सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो।
साथै, महिनावारीसम्बन्धी गलत धारणा र छाउपडीजस्ता हानिकारक अभ्यास अन्त्य गर्न विद्यालय, अभिभावक, स्थानीय तह, स्वास्थ्य संस्था तथा सञ्चारमाध्यमको सहकार्यमा राष्ट्रिय जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
महिनावारीका कारण कुनै पनि बालिका तथा किशोरीको पढाइ नरोकिने, आत्मविश्वास नटुट्ने र सपना अधुरा नहुने वातावरण निर्माण गर्न सरकारका कार्यक्रमलाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी बनाउनुपर्ने उहाँले बताउनुभयो।


172 पटक हेरिएको 

