
नुवाकोट : भोटेकोसीमा आएको भीषण बाढीका कारण विस्थापित भएका नागरिकलाई राखिएका नुवाकोट जिल्लाका विभिन्न होल्डिङ सेन्टर तथा जिल्लाका विभिन्न स्थानमा खानेपानीको गुणस्तर परीक्षण तथा अनुगमन भइरहेको छ।
बाढी तथा विपद्का कारण खानेपानीका स्रोतहरूमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै सुरक्षित र स्वच्छ खानेपानीको सुनिश्चितताका लागि पानी परीक्षण तथा अनुगमनलाई निरन्तरता दिइएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरका प्रमुख पूर्ण प्रसाद उपाध्यायले जानकारी गराउनुभयो।
खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुर, युनिसेफ नेपाल, जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोट तथा वास क्लस्टर नुवाकोटको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानमा खानेपानीको गुणस्तर परीक्षण गरिरहेको छ।
बाढीका कारण खानेपानीका मुहान, वितरण प्रणाली तथा अन्य संरचनामा क्षति पुग्न सक्ने र पानी प्रदूषित हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै पानीको गुणस्तर परीक्षण तथा अनुगमनलाई प्राथमिकतामा राखिएको हो। विशेषगरी बाढी प्रभावित तथा विस्थापित नागरिकलाई राखिएका होल्डिङ सेन्टरमा वितरण भइरहेको खानेपानी सुरक्षित भए–नभएको विषयमा टोलीले परीक्षण तथा अनुगमन गरिरहेको छ।

संयुक्त टोलीले खानेपानीको मुहानदेखि धारासम्मको अवस्थाको अनुगमन गर्दै पानीको गुणस्तर परीक्षण गरिरहेको छ। यस क्रममा खानेपानीका स्रोत तथा वितरण प्रणालीमा बाढीका कारण पर्न सक्ने असरको पहिचान र सुरक्षित खानेपानीको उपलब्धताका लागि आवश्यक अवस्थाबारे जानकारी लिइरहेको छ।
विपद्पछि पानीजन्य रोगको जोखिम न्यूनीकरणमा जोड
बाढी तथा पहिरोजस्ता विपद्का समयमा खानेपानीका स्रोतहरूमा फोहोर तथा विभिन्न प्रकारका प्रदूषक पदार्थ मिसिन सक्ने जोखिम हुन्छ। यस्तो अवस्थामा दूषित पानीको प्रयोगबाट झाडापखाला, हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले खानेपानीको गुणस्तर परीक्षणलाई महत्त्वपूर्ण मानिन्छ।

बाढी प्रभावित क्षेत्रमा खानेपानीको गुणस्तर परीक्षण तथा अनुगमनले पानीको अवस्थाबारे जानकारी प्राप्त गर्न, सम्भावित जोखिम पहिचान गर्न तथा आवश्यक सुधारका उपाय अवलम्बन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरका प्रमुख पूर्ण प्रसाद उपाध्यायले बाढी तथा विपद्पछि नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउन पानीको गुणस्तर परीक्षण तथा अनुगमनलाई निरन्तरता दिइएको बताउनुभयो।
उहाँले बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा रहेका विस्थापित नागरिक तथा अन्य प्रभावित समुदायले प्रयोग गर्ने खानेपानीको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। खानेपानीको मुहानदेखि धारासम्मको अवस्थाबारे जानकारी लिँदै सुरक्षित खानेपानीको सुनिश्चितताका लागि परीक्षण तथा अनुगमन भइरहेको उहाँले जानकारी दिनुभयो।

बाढी प्रभावित नागरिकको स्वास्थ्य सुरक्षाका लागि खानेपानीको गुणस्तर परीक्षणसँगै पानीको सुरक्षित प्रयोग, भण्डारण तथा वितरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। संयुक्त टोलीको परीक्षण तथा अनुगमनले बाढी प्रभावित क्षेत्रमा खानेपानीको गुणस्तर कायम राख्न र पानीजन्य स्वास्थ्य जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
फोटोहरु : खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, भक्तपुर


130 पटक हेरिएको 

